पोखरा । पोखरा पर्यटन भ्रमण वर्ष २०२५ आज घोषणा गरिँदै छ । पर्यटकीय राजधानी घोषणा भएको एक वर्ष पुग्न लाग्दा भ्रमण वर्ष मनाउने तयारी गरिएको हो । पोखराको प्रदर्शनी केन्द्रमा आयोजित विशेष समारोहमा भ्रमण वर्ष घोषणा गर्न लागिएको हो ।
पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष मनाउने तयारी भएको हाे । सरकारले गत वर्ष चैत ४ गते पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेको थियो । पोखरा महानगरपालिकाकाे अगुवाइमा भ्रमण वर्ष मनाउन लागिएको हो । घोषणा सभामा तीन वटै सरकारको सहभागिता हुने पाेखरा महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो । उप्रप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गण्डकीका पर्यटन मन्त्री मित्रलाल बस्याल, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यको सहभागितामा भ्रमण वर्ष घोषण गर्ने कार्यक्रम छ ।
पोखरा भ्रमण वर्षमा स्वदेशी तथा विदेशी गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको उहाँको भनाइ छ । ‘भ्रमण वर्ष भरी नै पोखराको प्रवद्र्धन गर्ने कार्यक्रमहरु सञ्चालन गरिने छ,’ उहाँले भन्नुभयो,‘ विदेशमा पोखराको प्रवद्र्धन गर्ने गरी सद्भावना दूतसमेत घोषणा गर्ने योजना पोखरा महानगरपालिकाले बनाएको छ ।’ घोषणा कार्यक्रमलाई व्यवस्थ्ति र भव्य बनाउन नगर प्रमुख आचार्यको संयोजकत्वमा १ हजार ५१ सदस्यीय मुलआयोजक समिति, प्रमुख आचार्यकै नेतृत्वमा ५१ सदस्यीय एक निर्देशक समिति र अर्को २५ सदस्यीय कार्य सम्पादन समितिसमेत गठन गरिएको छ । पर्यटन व्यवसायी गोपीबहादुर भट्टराईको संयो जकत्वमा कार्य सम्पादन समिति बनेको हो ।