पुलिस क्लब आहा राराको फाइनलमा

पुलिस क्लब आहा राराको फाइनलमा

police

पोखरा । विभागीय टोली नेपाल पुलिस क्लब पोखरामा जारी २४ औें आहा—रारा पोखरा गोल्ड कपमा फाइनल पुगेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाइज क्लबलाई १–० ले हराएर नेपाल पुलिस फाइनल यात्रा तय गरेको हो । पुलिसको जितमा सन्जीव लामाको गोल निर्णायक बन्यो ।

खेलको ५८ औँ मिनेटमा लामाले गोल गर्नुभएको हो । सन्जीव लामाले करिब २५ यार्डबाट प्रहार गर्दा बल पोस्टमा छिरेको हो । पुलिसलाई जिताउन निर्णायक गोल गर्नुभएका लामा खेलमा म्यान अफ दी म्याच घोषित हुनुभयो । खेलमा दुबै टोलीले केही राम्रा अवसरलाई गोलमा परिणत गर्न भने चुकेका थिए । आहा राराको बुधबारको खेल २५० औँ खेल हो । मोफसलमा आयोजना हुने प्रतियोगितामा २५० औँ खेल पुगेको पहिलो हो । पुलिस २०७६ सालपछि आहा राराको फाइनलमा स्थान बनाएको हो । पुलिसले उपाधिको लागि थ्रीस्टार र ब्ल्याक बुल्स फुटबल क्लबबिचको विजेतासँग फाइनलमा प्रतिष्पर्धा गर्नेछ ।

चर्च ब्वाइजका प्रशिक्षक चेतनारायण श्रेष्ठले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा पराजित भएको बताउनुभयो । पुलिसका प्रशिक्षक चेतन घिमिरेले फाइनलमा यो राम्रो खेल्ने दाबी गर्नुभयो ।बिहीबार ब्ल्याक बुल्स फुटबल क्लब र थ्रीस्टारबीच पोखरा रङगशालामा खेल हुनेछ । प्रतियोगितामा विजेता टोलीले १२ लाख एक हजार र उपविजेताल ६ लाख एक रुपियाँ पुरस्कार पाउनेछ ।

प्रतिक्रिया

भर्खरै