पोखरा । नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेश अधिवेशनको तयारी पूरा भएको छ । बिहीबार पोखरामा पत्रकार गरी २६ र २७ माघमा पोखरामा हुने प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारी पूरा भएको जानकारी दिइएको हो । महाधिवेशनको पार्टीका अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने पार्टीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश कमिटीका अध्यक्ष श्रीनाथ बरालले जानकारी दिए । अधिवेशनमा प्रदेशका ११ जिल्लाबाट ४ सय ५० जना प्रतिनिधिहरुको सहभागी हुनेछन् । ५० पार्टी सदस्य वरावर १ जना प्रतिनिधि चयन भएका र प्रत्येक संघीय निर्वाचन क्षेत्रलाई निर्वाचन क्षेत्र मानेर प्रतिनिधि चयन भएका जनाइएको छ ।
यसरी प्रतिनिधि चयन गर्दा महिला, उत्पिडित र मजदुर क्षेत्रको प्रतिनिधित्वलाई सुनिश्चित गर्न प्रत्येक संघीय निर्वाचन क्षेत्रवाट ३ प्रतिनिधि छानिँदा १ महिला अनिवार्य र ५ प्रतिनिधि छानिदा १ जना उत्पीडित समुदायबाट अनिवार्य गरिएको थियो । यससँगै प्रत्येक जिल्लावाट एकजना मजदुर अनिवार्य रुपमा छानिएको छ । यस अलावा विभिन्न जनसंगठनको प्रदेश कमिटीलाई पनि निर्वाचन क्षेत्र मानि प्रतिनिधि चयन भएका छन् । प्रतिनिधिका अलावा ५० जना स्वयंसेवक र आयोजक गरी प्रदेश अधिवेसनमा ६०० जनाको सहभागिता हुने जानकारी दिइएको छ । अधिवेशन सम्पन्न गर्न मूलआयोजक समितिसहित विभिन्न १२ वटा उपसमितिले तयारी पूरा गरेर अब कार्यक्रम उदघाटनको क्षेत्रको प्रतीक्षा गरिरहेको अध्यक्ष बरालले जानकारी दिए ।
पत्रकार भेटघाट कार्यक्रममा नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेश अधिवेशनको प्रचार उपसमितका संयोजक नवराज सुवेदी, पूर्वमन्त्री एवं एकीकृत समाजवादीका नेता तुलबहादुर गुरूङ, पोलिट् ब्युरो सदस्य दिलुकुमारी पन्त र एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं प्रदेश कमिटीका सचिव कृष्ण नेपाली लगायतले अधिवेशनको बारेमा जानकारी दिएका थिए । अधिवेशनले आगामी कार्यकालका लागि अध्यक्ष, दुई उपाध्यक्ष, सचिव र ३ सहसचिव रहेको पदाधिकारीसहित भूगोल र विभिन्न क्षेत्रको सहभागिता रहेको १४३ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्ने छ । अधिवेशनको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने छन् । उद्घाटन सत्रमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल लगायत नेताहरुले सम्बोधन गर्ने जनाइएको छ ।