पोखरा । २४ औं आहा ! रारा पोखरा गोल्ड कप भोलिदेखि पोखरामा सुरु हुँदैछ । मंगलबारबाट पोखरा रंगशालामा सुरू हुने उक्त प्रतियोगिताको तयारी सकिएको आयोजक सहारा क्लबले जनाएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता फागुन ३ गतेसम्म चल्नेछ । प्रतियोगितामा ३ विदेशी, ८ ए डिभिजनका क्लब, र आयोजक सहारा क्लब पोखरा गरी १२ टिमको सहभागिता हुनेछ । विजेतालाई नगद पुरस्कार १२ लाख १ हजार र उपविजेतालाई ६ लाख १ हजार नगद प्रदान गरिनेछ ।
क्लब अध्यक्ष केशवराज बरालले प्रतियोगितामा थ्री स्टार क्लब, मच्छिन्द्र फुटबल क्लब, संकटा क्लब, ब्रिगेड ब्वाइज क्लब, एन आरटी फुटबल क्लब, अपी पावर चर्च ब्वाइज युनाइटेड फुटबल क्लबसँगै विभागीय टोलीहरू नेपाल प्रहरीको नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब र आयोजक सहारा क्लब गरी स्वदेशका नौ टोलीले प्रतिस्पर्धा गर्ने बताए ।
प्रतियोगितामा युकेको बिग्रेड ब्वाइज फुटबल क्लब, भारतको थन्डरबोल्ट नर्थ युनाइटेड र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब प्रतियोगितामा सहभागी हुँदै छन् । सहभागी १२ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।