सवारी दुर्घटनामा छ महिनामा तनहुँमा ३८ जनाको मृत्यु

सवारी दुर्घटनामा छ महिनामा तनहुँमा ३८ जनाको मृत्यु

accident_UPDhwBMd6M

तनहुँ ।  पृथ्वीराजमार्गअन्तर्गत तनहुँ जिल्लामा पछिल्लो छ महिनामा सवारी दुर्घटनामा परी ३८ जनाले ज्यान गुमाएका छन् । मुग्लिन –पोखरा सडकखण्ड विस्तारसँगै फराकिलो सडकमा तीव्र गतिका कारण दुर्घटना बढेको हो । गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा जिल्लामा दुर्घटनामा परी २२ जनाको मृत्यु भएको थियो । जिल्लामा सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी दुर्घटनामा परेका छन् ।

मोटरसाइकल र स्कूटर बढी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिनुभयो । पृथ्वीराज मार्गअन्तर्गत कोत्रे, गाछेपानी, अकला, गुणादी, कमलबारी, नाहाला, विमलनगर, आँबुखैरेनीस्थित पावरहाउस बढी दुर्घटना हुने स्थानहरु हुन् ।

विगतमा सडकको दुरावस्थाले सवारी दुर्घटना हुने गरे पनि हाल सडक विस्तारले गर्दा झनै दुर्घटना बढाएको प्रहरीको अनुमान छ । दुर्घटना न्यूनीकरणका लागि प्रहरीले विद्यालय, समुदायस्तरमा पुगेर सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । आव २०७९/८० मा सवारी दुर्घटनामा परी २९ जनाको मृत्यु भएको थियो । त्यस्तै आव २०७८/७९ मा दुर्घटनामा परी ४९ जना, २०७७/७८ मा ४८ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए । त्यसैगरी आव ०७६/७७ मा ४४ र ०७५/७६ मा ६० जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको जिल्ला प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया