जिबी राईको राहदानी रद्द गर्न आदेश

जिबी राईको राहदानी रद्द गर्न आदेश

GB-rai-Suryadarshan-Sahakari-768×432

पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा फरार रहेका गीतेन्द्रबाबु (जिबी) राईको राहदानी रद्द गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ । शुक्रबार न्यायाधीश हिमलाल बेल्बासेको इजलासले राहदानी रद्द गर्न निर्देशन दिएको हो ।

जिल्ला अदालत कास्कीका स्रेस्तेदार राजन खनालका अनुसार राहदानी विभागमा पत्र पठाएर रद्द प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ । उनले भने, ‘सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतमा विचाराधीन अवस्थामा छ । जिबी राई विदेशमा रहेको सूचना प्राप्त भएकाले राहदानी रद्द गरी कानुनी प्रक्रिया अघि बढाउने उद्देश्यले अदालतले अनुमति दिएको हो ।

’जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिल कार्यालयमार्फत जिबी राईलाई विदेशबाट पक्राउ गरी नेपाल ल्याउन राहदानी रद्द गर्न माग गर्दै जिल्ला अदालत कास्कीमा पुस २८ मा निवेदन दिएको थियो । पुस २९ कै लागि पेसी तोकिएको भए पनि त्यो दिन निवेदन हेर्न नभ्याइनेमा परेको थियो ।

जिबी राइ अध्यक्ष रहेको सूर्यदर्शन सहकारीको रकम अपचलन भएपछि सदस्यहरुले उनीसहित रवि लामिछाने लगायतलाई विपक्षी बनाएर जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । लामिछाने जिल्ला अदालत कास्कीको आदेशले ६५ लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।

प्रतिक्रिया