कान्छा न्यायाधीश राईको इजलासमा रवि लामिछानेको मुद्दा

कान्छा न्यायाधीश राईको इजलासमा रवि लामिछानेको मुद्दा

kaski court

पोखरा । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी ३ मुद्दा लागेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको मुद्दा न्यायाधीश नीतिज राईको इजलासमा परेको छ । कुन मुद्दा कुन इजलासमा पर्ने भन्ने अदालतमा गोलाप्रथाद्वारा निर्धारण गरिन्छ । सोमबार गोलाप्रथा गर्दा लामिछानेको मुद्दा राईको इजलासमा परेको थियो । रविविरुद्धको मुद्दामा अदालतमा बयान सुरु भएको छ । सोमबार भने अर्का प्रतिवादी छवि जोशीको बयान सुरु भयो । अब रविसहित सबैको थुनछेक बहस राईकै इजलासमा हुनेछ । तर कुन दिन भन्ने यकीन छैन ।

राई नेपालका अदालतहरुमा बहालवाला न्यायाधीशमध्ये सबैभन्दा कान्छो उमेरका न्यायाधीश हुन् । न्यायाधीशमा परीक्षा उत्तीर्ण गरेर नाम निकालेपछि उनको पहिलो पोस्टिङ कास्कीमा भएको थियो । साउनदेखि कास्की अदालत आएका न्यायाधीश राईको अहिलेसम्मको करियरमा रविको मुद्दा नै सबैभन्दा ठूलो हो । अदालतमा सोमबार पहिला रविलगायत प्रतिवादीहरुको बयान हुनेछ ।

त्यसपछिमात्रै थुनछेक बहस अर्थात उनलाई जेलमा राखेर अनुसन्धान गर्ने कि छाडेर भन्नेबारे बहस हुनेछ । रवि लगायतविरुद्ध आइतबारमात्रै मुद्दा दर्ता भएको हो । जिल्ला न्यायाधीशका लागि लोकसेवा आयोगले गत वैशाखमा लिएको खुला प्रतिस्पर्धात्मक परीक्षामा ८ जनामात्रै उत्तीर्ण भएका थिए । जब कि ४३ जिल्लाका लागि न्यायाधीशको दर्खास्त खुलेको थियो । आवेदन २ सय ३ जनाले दिएका थिए । तर लिखित परीक्षा उत्तीर्ण गर्ने मात्रै ८ भए ।

तिनैमध्ये एक थिए नीतिज राई । राई ३५ वर्षका छन् । कानुनमा स्नातकोत्तर राईसँग न्यायाधीश हुनुअघि न्याय सेवामै काम गरेको अनुभव छ । सुरुमा न्याय समूहको अधिकृतमा नाम निकालेका उनले सर्वोच्च अदालतमा ६ वर्षको अनुभव बटुलेका थिए । त्यसपछि उनी उपसचिव भएका थिए । अधिकृतमा उनी १ नम्बरमा नाम निकाल्न सफल भएका थिए । समाधान दैनिकमा समाचार छ ।

प्रतिक्रिया

भर्खरै