काठमाडौं । नेपाली पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको नेतृत्व लिनका लागि अध्यक्ष पदमा पाँच जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षमा निर्मला शर्मा, कमल गिरी, देवीप्रसाद सापकोटा, रमेश बिष्ट र लालसिंह (एलएस) लामाको उम्मेदवारी परेको छ ।
गिरी प्रेस सेन्टर नेपाल नेतृत्वको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका हुन् भने शर्माले प्रेस चौतारी र प्रेस युनियनको प्यानलबाट उम्मेदवारी दिएकी हुन् । बिष्टले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईं, दामोदरप्रसाद दवाडी, दीपक आचार्य र रोशन पुरी गरी चारजनाको उम्मेदवारी परेको छ ।
उपाध्यक्ष महिलामा गंगा पौडेल र नितु पण्डितको उम्मेदवारी परेको छ । बराल प्रेस सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार हुन् भने पण्डित चौतारी नेतृत्व प्यानलको उम्मेदवार हुन् । त्यसैगरी, महासचिवमा जन्मदेव जैसी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेको उम्मेदवारी परेको छ । जसमा दाहाल चौतारी नेतृत्वको प्यानलबाट उम्मेदवार छन् ।
काेषाध्यक्षामा कास्कीका रामकृष्ण ज्ञवालीले उम्मेदवारी दिएका छन् । पोखराबाट प्रकाशित हुने समाधान दैनिका प्रधान सम्पादक ज्ञवालीले प्रेस चैतारी र प्रेस युनियनकाे प्यानलबाट उम्मेदवारी दिएका हुन् । ज्ञवाली पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष तथा पत्रकार महासंघको पूर्वकेन्द्रीय सदस्य हुन् ।
५२ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि एक सय ३३ जनाको उम्मेदवारी परेको छ । महासंघ निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्न समयसीमा तोकिएकामा उक्त समयसीमाभित्र ४७ पदका लागि एक सय ३३ जनाको उम्मेदवारी दर्ता भएको छ । महासंघकाे केन्द्र, प्रदेश र जिल्लामा एकै दिन मंसिर २८ गते निर्वाचन हुँदैछ । प्रदेशकाे २४ गते र जिल्लाको २६ गते उम्मेदवारी दर्ता तोकिएको छ ।