पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई चितवनबाट पोखरा ल्याइएको छ । साहरा सहकारीको रकम हिनामिना अभियोगमा चितवनमा हिजो अबेर बयान सकिएपछि तत्कालीन गोर्खा मिडिया प्रालिका सञ्चालक, शेयर होल्डर तथा प्रबन्ध निर्देशक समेत रहेका लामिछानेलाई आज बिहान पोखरा ल्याइएको हो ।
चितवन प्रहरीका अनुसार हिजो राति ८ बजे जिल्ला सरकारी वकिलको कार्यालय चितवनमा रवि लामिछानेको बयान सकिए उनलाई पोखरा ल्याउने तयारी गरिएको थियो । हिजो बयान लिने क्रममा रास्वपाका कार्यकर्ता प्रदर्शनमा उत्रिएर ढुंगामुडा गरेपछि सुरक्षाको कारण देखाउँदै प्रहरीले सडक मार्ग हुँदै राति नै पोखरा ल्याएको हो ।
उनलाई आज बिहान जहाजबाट पोखरा ल्याउनका लागि टिकट बुकिङ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय पर्साले पनि पक्राउको आदेश पाइसकेकोले उनलाई वीरगञ्ज लगिने तयारी भएपनि आइतबार हिरासतमा राख्ने म्याद थप गर्नुपर्ने भएकोले लामिछानेलाई पोखरा ल्याइएको हो । यसअघि उनलाई सहरकारी ठगी प्रकरणमै बयान लिन बुटवल, काठमाडौं लगिएको थियो । उनलाई काठमाडौंबाट चितवन लगिएको हो ।
लामिछाने माथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ । सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले रविसमेत सञ्चालक रहेको ग्यालेक्सी फोरके टेलिभिजनको खातामा सहकारीहरुबाट ६५ करोड ५४ लाख रुपैयाँ गएको छानबिनले देखाएको बताएको थियो । सूर्यदर्शन, सुप्रिम, सहारा चितवन, स्वर्णलक्ष्मी सहकारी र सानो पाइला सहकारीबाट ६५ करोड ५४ लाख ४ हजार ५ सय ३८ रुपैयाँ गोर्खा मिडियामा प्रवाह भएको देखिएको प्रतिवदेनमा उल्लेख गरिएको छ ।