फुटबलको लयमा फर्कदैं लेखनाथको आदर्श युवा क्लब

फुटबलको लयमा फर्कदैं लेखनाथको आदर्श युवा क्लब

२५ औं संस्करणको आदर्श कप मंसिर २२ देखि

AYC Image

पोखरा । कोभिडसँगै सुस्ताएको मोफसलकै चर्चित आदर्श कप फुटबल प्रतियोगिता ६ वर्षपछि लयमा फर्किएको छ । मंसिर २२ देखि २९ गतेसम्म क्लबले २५ औं सस्करणको आदर्श कपको आयोजना गरेर प्रतियोगितालाई लयमा फर्काएको हो ।

२०७५ सालमा २४ औं संस्करणको ऋदिसिद्धी आदर्शकपपछि लेखनाथकै सर्वाधिक राशिको प्रतियोगिता ६ वर्षसम्म रोकिएको थियो । झण्डै ६० लाख रुपैंयाँ खर्च हुने अनुमान गरिएको फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा  छ । प्रतियोगितामा आयोजकसहित गण्डकी प्रदेशका ८ समूहले भाग लिँदै छन् । आयोजक आदर्श युवा क्लब, कास्की ११, नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरीसहितका विभागीय क्लब एवं तनहुँ, गोरखा र स्याङजाका एक÷एक टिम सहभागी हुनेछन् ।

फुटबल मैदान मर्मत, अस्थायी प्यारापिट निर्माण लगायतको अन्य तयारी पूरा भएको क्लबका अध्यक्ष पदम गुरुङले जानकारी दिए । खेल प्राविधिक र रेफ्रीको समूहको निगरानीमा खेल मैदानलाई मिलाउने कार्य भइरहेको गुरुङले बताए । प्रतियोगिताका लागि शुभेच्छुक र विभिन्न निकायबाट आर्थिक सहयोग आउनेक्रम जारी रहेको कलबका कोषाध्यक्ष विष्णु हमालले बताए । मोफसलमा स्तरीय खेल खेलाउन चुनौतीपूर्ण रहेको उल्लेख गर्दै, हमालले सबैको साथ र सहयोगले हौसला थपेको बताए । मोफसलको खेल उत्सव हो, क्लबका अध्यक्ष पदम भन्छन्, ‘सुस्ताएको स्तरिय खेललाई फेरी जिवन्तता दिएका छौं ।’ उनले प्रतियोगिताले यस क्षेत्रको पर्यटन प्रर्वद्धनमा समेत जोड दिने बताए ।

मोफसलमा आरारारा गोल्डकपपछि आदर्श युवा क्लबले मात्र निरन्तरताको श्रृंखला जारी राखेको क्लबका पूर्वअध्यक्ष विजय गुरुङले बताए । उनले आफू अध्यक्ष हुँदा राष्ट्रिय स्तरको २२ औं र २३ औं संस्करण खेलाएको सम्झदै, त्यसले यस क्षेत्रमा खेलाडी उत्पादनमासमेत सहयोग पुग्ने उल्लेख गरे । वार्षिक रुपमा प्रतियोगिता जारी राखेको भए अहिले ३५ औं श्रृंखलामा पुग्थ्यौं पूर्वअध्यक्ष गुरुङले भने,‘विविध कारणले सकिएन, अहिले लयमा फर्किएको छ ।’ प्रतियोगिताका लागि वडा नंं २९ को कार्यालयले संरकत्व प्रदान गर्दै खेल मैदान मर्मत संभारमा सहयोग गरेको छ । त्यस्तै महानगरका विभिन्न वडा कार्यालय, प्रदेशका विभिन्न कार्यालय तथा संघसंस्था र शुभेच्छुकहरुले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष गुरुङले उल्लेख गरे ।

लेखनाथ रंगशालाको स्तरोन्नति, निर्माण रोकिएको कभडहल, प्यारापिट र खेल विकासका लागि राज्यका निकायको ध्यान लेखनाथ क्षेत्रमा नपुगेको पनि अध्यक्ष गुरुङले बताए । ‘पोखरा रंगशाला पछिको विकल्पका रुपमा लेखनाथ रंगशालालाई अगाडि बढाउन सकिन्थ्यो तर राज्यको ध्यान जान सकेन,’ अध्यक्ष गुरुङले भने, ‘रंगशालालाई हामीले संरक्षण गरेर जोगाएर राखेका छौं ।’ प्रतियोगिताको विजेतालाई नगद ४ लाख २५ हजार पाँच सय २५ रुपैंयाँ र उपविजेतालाई २ लाख २५ हजार पाँचसय २५ रुपैंयाँ र मेड प्रदान गरिनेछ । साथै विभिन्न विधामा खेलाडीलाई पुरस्कृत गरिने जनाइएको छ ।

प्रतिक्रिया