पोखरा । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज मतदान सुरु भएको छ । आज बिहान ७ः०० देखि अपराह्न ५ः०० बजेसम्म मतदान समय तोकिएको छ। नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिह्नमा निर्धक्क भई मतदान गर्न निर्वाचन आयोगले सम्पूर्ण मतदातालाई आग्रह गरेको छ ।
मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छ्न् । आयोगले मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालना गर्न तथा मतदातालाई भयमुक्त वातावरणमा मतदान गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ । मतदान केन्द्रमा शान्त र सहिष्णु वातावरण कायम राख्दै मतदान कार्यलाई सुव्यवस्थित रूपमा सञ्चालन गर्ने/गराउने कार्यमा सबै राजनीतिक दल, मतदाता, उम्मेदवार, सञ्चारकर्मी, पर्यवेक्षकलगायत सबै सरोकारवालासँग आयोगले सहयोगको अपेक्षा गरेको छ ।
गोरखा ५ मा निर्वाचन
गण्डकी प्रदेशको गाेरखा नगरपालिका वडा नम्बर ५ मा मात्र निर्वाचन हुँदैछ । वडाध्यक्ष खिलबहादुर रानाको २०७९ सालकै तिहारको भाइटीका दिन निधन भएको थियो । घरमै बसिरहेको बेला दिउँसो एक्कासी लडेर बेहोस भएपछि उनलाई गोरखा अस्पताल पुर्याइएको थियो । गोरखा अस्पतालका अनुसार अस्पताल पुग्नुअघि नै उनको निधन भइसकेको थियो । उनी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
नेकपा एमालेले उनकै श्रीमती दुर्गामाया रानालाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । कांग्रेसबाट भाइकाजी आले, माओवादी केन्द्रबाट विष्णुबहादुर राना मगर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मंगलबहादुर थापाको उम्मेदवारी परेको छ । त्यस्तै मंगल नेशनल अर्गनाइजेशनबाट भवानी थापा मगर, नेशनल रिपब्लिक नेपालकी सविना तामाङ, राप्रपाकी कल्पना राना, राप्रपा नेपालका रुपसिंह राना, नेकपा (एस) का खड्गबहादुर भुजेल र नेपाल समाजवादी पार्टीका रुपेश मग्रातीले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपनिर्वाचनका लागि गोरखा–५ मा दुई हजार २ सय २५ मतदाता कायम भएका छन् । गोरखकाली आधारभूत विद्यालय स्वाँरा र शिवशक्ति आधारभूत विद्यालय अमराई गरी दुई वटा मतदान स्थल रहेका छन् । गोरखकाली आधारभूत विद्यालयमा ३ सय ५४ पुरुष र ३ सय ७० महिला गरी ७ सय २४ मतदाता रहेका छन् । शिवशक्ति आधारभूत विद्यालय, अमराईमा ७ सय ३२ पुरुष र ७ सय ६९ महिलासहित १ हजार ५ सय १ जना मतदाता रहेका छन् ।