पोखरा । पोखराको भद्रकाली मार्गमा रहेको पोखरा युनाइटेड एकेडेमीमा वार्षिक स्पोट्र्स मिट २०८१ सुरु भएको छ । तीन दिनसम्म संचालन हुने उक्त स्पोर्टस मिटको आज संघीइ सांसद मनबहादुर गुरुङले उद्घाटन गर्दै विद्यालयले शिक्षासँगै खेलाडी उत्पादनको लागि विभिन्न खेलकुद गतिविधि गर्नुपर्नेमा जोड दिनु भयो । उनले हरेक व्यक्तिसँग विभिन्न क्षमता हुने हुँदा आफ्नो प्रतिभा प्रष्फुटन गर्न विद्यार्थीलाई आग्रह गरे । सांसद गुरुङले नेपालका सन्दीप लामिछाने, सावित्रा भण्डारीदेखि विदेशी खेलाडी मेसी, रोनाल्डो जस्ता खेलाडी पोखराले पनि उत्पादन गर्न सक्ने दाबी गरे ।
कार्यक्रममा प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङले कुनै पनि खेलकुद प्रतियोगिताहरुमा सहभागी हुनु ठूलो कुरा भएको उल्लेख गर्दै खेलमा जीत हार दोस्रो पक्ष भएको बताए ।विद्यालयका प्रिन्सिपल बयनबहादुर गोदारले विद्यार्थीको शिक्षासँगै अतिरिक्त क्रियाकलापमा जोड दिन वार्षिक रुपमा कार्यक्रम आयोजना गर्दै आएको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवबहादुर भण्डारीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा विद्यालयका सहप्रध्यानाध्यापक देवेन्द्र अधिकारी, शिक्षक फणीन्द्रराज पौडेलले लगायतले शिक्षासँगै खेलकुदको महत्वको बारेमा चर्चा गरेका थिए । उद्घाटन सत्रमा विद्यार्थीहरुले मार्च पास गरेका थिए । शुक्रबारसम्म चल्ने उक्त स्पोर्टस मिटमा फुटबल, भलिबल, बास्केटबल लगायतका विभिन्न खेलहरु हुने भएका छन् ।