छविलाललाई काठमाडौं पठाइयो, रविलाई पनि पठाउने तयारी

छविलाललाई काठमाडौं पठाइयो, रविलाई पनि पठाउने तयारी

chhabilal-joshi

पोखरा । सहकारी ठगी आरोपमा पक्राउ परी कास्की प्रहरीको हिरासतमा रहेका गोर्खा मिडियाका तत्कालीन सञ्चालक तथा पूर्वडिआइजी छविलाल जोशीलाई अनुसन्धानको लागि काठमाडौं पठाइएको छ ।

पोखराको सूर्य दर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका उनलाई काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा सोधपुछका लागि काठमाडौं पठाइएको कास्की प्रहरीले बताएको छ । कास्की प्रहरी प्रवक्ता तथा डिएसपी वसन्तकुमार शर्माका अनुसार आज साँझ ५ः४५ बजेको यति एयरलाइन्सबाट उनलाई काठमाडौं पठाइएको हो ।

स्वर्णलक्ष्मी सहकारीका तत्कालीन कोषाध्यक्ष कुमार रम्तेललाई काठमाडौं ल्याएर बयान लिइसकिएकाले छविलाई काठमाडौं पठाइएको प्रहरीको भनाइ छ । स्वर्णलक्ष्मी सहकारीमा ठगी भएको भन्दै उजुरी परेपछि प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने र छविसहित २२ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । यसअघि यही सहकारीको प्रकरणमा जिवी राईसहित २४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

यसअघि छविलाई बुटवलकाे सुप्रिम सहकारीकाे रकम अपचलनकाे बारे अनुसन्धान गर्न बुटवल लगेर कास्की नै ल्याइएको थियो । रवि र छविलाई पोखराबाट एकसाथ पठाउन काठमाडौं प्रहरी परिसरले कास्की प्रहरीलाई पत्राचार गरेको थियो । तर, रविलाई छोडेर आज छविलाई मात्रै कास्की प्रहरीले काठमाडौं पठाएको छ । उनीहरूलाई बेग्लाबेग्लै ल्याउने हेतुले प्रहरीको पत्रमा समेत संशोधन भएको स्रोतले दाबी गर्‍यो ।

रविलाई काठमाडौं पठाउँदा भिड जम्मा हुने र मुठभेडको स्थितसम्म हुने अनुमानसहित उनलाई केही दिनपछि काठमाडौं पठाउने तयारी कास्की प्रहरीले गरेको छ । स्रोतका अनुसार दिन एकीन नभएपनि उनलाई छिटै काठमाडौं पठाउने तयारी कास्की प्रहरीले गरेको छ । रविलाई पनि बुटवलको सुप्रिम सहकारीको रकम अपचलनमा अनुसन्धान गर्न बुटवल लगेर कास्की नै फिर्ता गरिएको थियो ।

सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले रविसमेत सञ्चालक रहेको ग्यालेक्सी फोरके टेलिभिजनको खातामा सहकारीहरुबाट ६५ करोड ५४ लाख रुपैयाँ गएको छानबिनले देखाएको बताएको थियो । सूर्यदर्शन, सुप्रिम, सहारा चितवन, स्वर्णलक्ष्मी सहकारी र सानो पाइला सहकारीबाट ६५ करोड ५४ लाख ४ हजार ५ सय ३८ रुपैयाँ गोर्खा मिडियामा प्रवाह भएको देखिएको प्रतिवदेनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया