तनहुँ । पृथ्वी राजमार्गको मुग्लिङ–पोखरा सडक योजना अन्तर्गत तनहुँमा पर्ने छिर्कन–देउराली सडक खण्ड गएराति ११ बजेदेखि बिहान ४ बजेसम्म बन्द भएको छ । राति १ बजेदेखि साढे १ बजेसम्म भने सडक आवागमनका लागि खुल्ला गरिएको छ । पहिलो चरणमा आज राति ११ बजेदेखि राति १ बजेसम्म र दोस्रो चरणमा राती १ः३० बजेदेखि बिहान ४ बजेसम्म सडक पूर्णरुपमा बन्द हुने आयोजनाले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँलेसूचना जारी गर्दै लामो समय सडक बन्द हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । मंसिर ३ गते सोमबारदेखि मंसिर २३ गते आइतबारसम्म सडक बन्द गरी निर्माण गरिने पूर्वीसडक खण्ड आयोजनाले जनाएको छ । उक्त अवधिभर अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधनका लागि सडक पूर्णरुपमा बन्द हुने जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।
उक्त अवधिमा रोकिने सवारी साधनले रोक्दा वा चलाउँदा कडाइका साथ आफ्नो लेन अनुशासन कायम राख्न र सवारी लामबद्ध भएको अवस्थामा जथाभावी ओभरटेकसमेत नगर्न प्रहरीले अनुरोध गरिएको छ । राति १ बजेदेखि १.३० बजेसम्म भने सडक आवागमनका लागि खुल्ला गरिने पूर्वीसडक खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए । उनका अनुसार यस सडक खण्डमा ४१ दशमलव ५ किमी दूरी रहेको छ । हालसम्म ६८ प्रतिशत प्रगति भएको छ ।