पिएमको चीन भ्रमणमा पोखरामा विशिष्टीकृत अस्पताल निर्माणकाे एजेन्डा समावेश गर्न प्रस्ताव

पिएमको चीन भ्रमणमा पोखरामा विशिष्टीकृत अस्पताल निर्माणकाे एजेन्डा समावेश गर्न प्रस्ताव

health ministry gandaki

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको समयमा पोखरामा विशिष्टीकृत अस्पताल निर्माणको एजेन्डालाई समावेश गर्न गण्डकी प्रदेश सरकारले संघ सरकारसँग प्रस्ताव गरेको छ ।

क्यान्सर, मुटु, मिर्गौला, जलन, मातृ तथा बाल रोगसहितको विशिष्टीकृत अस्पताल पोखरामा निर्माण गर्ने एजेन्डा समावेश गर्न प्रस्ताव गरिएको हो । प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मन्त्रीस्तरीय निर्णय र प्रदेश मन्त्रिपरिषद्को सफारिससहितको प्रस्ताव संघ सरकारका मुख्यसचिव एकनारायण अर्याललाई पेश गरेका छन् ।

स्रोतसाधन र बजेटको अभावमा एक हजार शैय्याको विशिष्टीकृत अस्पताल निर्माणको काम अगाडि बढ्न नसकेकाले भौतिक पूर्वाधार निर्माण, शैय्या, औँजार, उपकरणलगायतमा चीन सरकारको सहयोगको अपेक्षासहित उक्त प्रस्ताव गरिएको मन्त्री पाठकले बताए । मन्त्री पाठकले गण्डकी प्रदेश चीनको भू–भागसँग जोडिएको र हालै यसै प्रदेशमा पर्ने कोराला नाकामा अध्यागमन कार्यालयसमेत स्थापना भएको अवस्थामा द्विपक्षीय लगानी तथा सहयोग आदानप्रदानमा थप सहजता थपिएको उल्लेख गरे ।
उक्त अस्पताल स्थापना भएपछि क्यान्सर, मुटु, मिर्गौला रोग, जलन जस्ता जटिल स्वास्थ्य समस्यामा हुँदा सर्वसाधारणले प्रदेशमै गुणस्तरीय सेवा पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अस्पतालमा एयर एम्बुलेन्ससहित आपतकालीन उद्धार सेवा उपलब्ध भई दुर्घटना तथा स्वास्थ्य विपद् व्यवस्थापनमा सहयोग पुग्ने जनाइएको छ ।
प्रस्तावित उक्त अस्पतालबाट परम्परागत चिनियाँ उपचार, आयुर्वेद चिकित्सा जस्ता सेवासमेत उपलब्ध गराउने उद्देश्य लिइएको मन्त्री पाठकले बताए ।  मन्त्री पाठकले केही समयअघि प्रधानमन्त्री ओलीलाई भेटी कास्कीको पोखरा महानगरपालिका–१६ स्थित जौवारी सिँचाइ विभागको २०० रोपनी जग्गा सोही अस्पताल निर्माण प्रयोजनका लागि प्रदेश सरकारलाई उपलब्ध गराइदिन माग गर्नुभएको थियो ।
प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा विशिष्टीकृत अस्पतालको योजना समेटिँदै आए पनि जग्गा र बजेट अभावका कारण कार्यान्वयनमा आउन सकेको छैन ।

प्रतिक्रिया