गण्डकीमा  १८ हजारमा डेंगी संक्रमण, आठ जनाको मृत्यु

गण्डकीमा  १८ हजारमा डेंगी संक्रमण, आठ जनाको मृत्यु

dengue

पोखरा ।  गण्डकी प्रदेशमा डेंगी संक्रमणबाट  गत साउनदेखि अहिलेसम्म ८ जनाको ज्यान गएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार  यस वर्ष पहिलो पटक गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको डेंगी सङ्क्रमणबाट मृत्यु भएको थियो । त्यसयता साउन २२ मा कास्कीका ४० वर्षीया पुरुष, साउन ३१ गते कास्कीकै ५२ वर्षीया महिला र भदौ १९ गते म्याग्दीका ६१ वर्षीया पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

कास्कीमा भदौ २१, असोज २, १४ र कात्तिक ४ गते गरी क्रमशः ८१, ७०, ७५ र २६ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । मन्त्रालयका अनुसार माघदेखि अहिलेसम्म गण्डकी प्रदेशमा १८ हजार ३ सय ३९ जनामा डे‌गी सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा कास्कीमा सबैभन्दा बढी आठ हजार नौ सय ७९ जना र सबैभन्दा कम मनाङमा मात्र छ जनामा डेंगी सङ्क्रम पुष्टि भएको मन्त्रालयका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले जानकारी दिए ।

प्रदेश राजधानीसमेत रहेको कास्कीको पोखरा महानगरपालिकामा मात्रै आठ हजार आठ सय ५८ जनामा डे‌गी सङ्क्रमण पुष्टि भएको उनले बताए ।  प्रदेशका १२ वटा स्थानीय तहमा भने अहिलेसम्म डेंगी सङ्क्रमण देखिएको छैन । गत जनवरीमा जम्मा ७० जनामा डेंगी देखिएकामा गत सेप्टेम्बरमा छ हजार दुई सय ६७ जना सङ्क्रमित भएका थिए । अक्टुबरमा छ हजार ४४ र नोभेम्बर सुरु भएयता हालसम्म  नौ सय ४७ जनामा डेंगी देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो तथ्यांक अनुसार कास्कीपछि सबैभन्दा बढी तनहुँमा तीन हजार आठ सय १७, पर्वतमा एक हजार चार सय ३१, बागलुङमा एक हजार तीन सय ८४, गोरखामा एक हजार एक सय दुई, स्याङ्जामा सात सय २६, म्याग्दीमा चार सय ५६, नवलपुरमा दुई सय ९७, लमजुङमा एक सय २५, मुस्ताङमा १६ र मनाङमा छ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया