भारतीय स्थाल सेनाध्यक्षले पोखरा र मुत्तिनाथको पनि भ्रमण गर्ने

भारतीय स्थाल सेनाध्यक्षले पोखरा र मुत्तिनाथको पनि भ्रमण गर्ने

upendra-dubadi

पोखरा । आगामी मंसीर ५ गते नेपाल भ्रमणमा आउन लागेका छिमेकी देश भारतका स्थाल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले मुक्तिनाथ र पोखराको पनि भ्रमण गर्ने भएका छन् । नेपाली सेनाका अनुसार ५ दिने नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष द्विवेदीले पशुपतिनाथ र मुक्तिनाथको दर्शन गर्नुका साथै पोखरा तथा सगरमाथा क्षेत्रको समेत अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले त्यस अवसरमा उनलाई मंसिर ६ गते नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राई र समकक्षी प्रधानसेनापति अशोकराज सिग्देलसँग भारतीय सेनाध्यक्ष द्विवेदीले नेपाल भ्रमणका क्रममा भेटवार्ता गर्ने छ । नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष द्विवेदीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण र जंगी अड्डामा सम्मान गारतको निरीक्षण गर्ने छन् । उनले कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग अन्तक्रिया र पश्चिम पृतनाको भ्रमण गर्ने कार्यसूची छ । प्रधानसेनापति सिग्देलको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष द्विवेदी नेपाल भ्रमणमा आउन लागेका हुन् ।

नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने अनुपम परम्परा छ । यसअघि भारतका राष्ट्रपति रामनाथ कोविन्दले नेपालका तत्कालीन प्रधानसेनापति प्रभुराम शर्मालाई २०७८ कात्तिक २४ गते भारतीय स्थलसेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरेका थिए । छिमेकी देशका सेनाबीचको यस्तो सम्मान परम्पराले सम्बन्धलाई सुमधुर तुल्याउन र सौहार्दता कायम राख्न एउटा महत्वपूर्ण कडीका रूपमा भूमिका खेल्ने विश्वास गरिएको छ ।

यसअघिका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ भदौ २० गते नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गरेकी थिइन् । सन् १९५० मा भारतका सेनाध्यक्ष जनरल केएम परिअप्पालाई पहिलो पटक नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको थियो भने २०२६ सालमा तत्कालीन प्रधानसेनापति सुरेद्रबहादुर शाहलाई पनि पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीबाट सुशोभित गरिएको थियो । आदिम कालदेखि नै नेपाल र भारतबीच धार्मिक, साँस्कृतिक र भौगोलिक सम्बन्ध रहिआएको छ ।

नेपालमा २०७२ वैशाखमा गएको भूकम्पलगायत अन्य प्राकृतिक प्रकोपका समयमा भारतीय सैनिकले नेपाललाई गरेको सहयोग अविस्मरणीय छ ।नेपाल र भारतबीच सैनिक तहमा स्थापित सम्बन्ध सैनिक कूटनीतिका क्षेत्रमा संसारकै लागि एउटा सशक्त उदाहरण बनिरहेको छ । नेपाल–भारतबीचको खुला सीमानाका कारण हुन सक्ने सुरक्षा चुनौतीलाई सम्बोधन गर्दै विश्वास र सहकार्यलाई अघि बढाउन मानार्थ महारथीको परम्पराले थप मलजल गरेको छ ।

प्रतिक्रिया