पोखरा । जिल्ला समन्वय समिति कास्कीले जिल्लाका कृषि तथा पशुपालन क्षेत्रका सरोकारवालाहरूसँग अन्तरक्रिया गरेको छ । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले कार्यक्रमको उद्घाटन गर्दै कृषि र किसानका समस्याहरूको पहिचानसहित समाधान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उल्लेख गरे ।
प्रमुख पौडेलले पहिचान भएका समस्या समाधानमा केन्द्रित हुन् राज्यका सरोकारवाला निकाय गम्भीर हुन आग्रह गरे । कृषिमा आत्मनिर्भर हुने कार्यक्रम अति जरूरी रहेको अवस्थामा प्रविधि र समयको उचित प्रयोगसहित वास्तविक किसान सम्म पुग्ने कार्यक्रम बनाउन पौडेलले आग्रह गरे ।कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका धितालका किसान नवीनराज अधिकारीले कार्यक्रम प्रभावकारी भएको भन्दै कतिपय पालिकास्तारका कार्यक्रम वास्तविक किसानसँग नपुगेको भन्दै दुखेसो पोखे । उनले उत्पादनदेखि बजारीकरणका समस्याले किसान पीडित हुनुपरेको भन्दै त्यसको समाधानमा ध्यान दिन आग्रह गरे ।
किसानहरूलाई पर्याप्त तालिम,जानकारी अभाव व्यावसायिक कृषिमा बाधा भएको अर्का किसान बृजलाल चौधारीले उल्लेख गरे । कृषि कार्यालयहरूका सूचना आफूहरूको पहुचमा नभएको भन्दै वास्तविक किसान मारमा परेको दाबी गरे । उनले सरकारले दिने अनुदान समेत किसानको पहुँचमा नहुँदा कठिनाइमा परेको उल्लेख गरे । पोखरा २२ का अर्का कृषक देवीलाल बरालले बाल र नश्ल सुधारमा केन्द्रितहुँदै बाली तथा पशुमा लाग्ने रोग अर्को मुख्य समस्या भएको उल्लेख गरे । बादर आतंक र बाली तथा नश्लको समस्यामा केन्द्रत हुनुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा किसान रामकृष्ण लामिछानेले भैसी तथा पाडापाडी अनुदान सम्बन्धी व्यवस्था वैज्ञानिक नभएको भन्दै उन्नत जातका नश्ल उत्पादनका कार्यक्रम व्यावसायिकतामा मात्रै केन्द्रित हुनु दुखद भएको जिकिर गरे । कृषक दुर्गाबहादुर क्षेत्रीले किसानले बाली जोगाउन र पशुपालकले पशु जोगाउन मुश्किल परेको तर्फ राज्यका निकाय गम्भीर हुनुपर्ने उल्लेख गरे । एग्रो टुरिजम सहकारीका अध्यक्ष डिल्लीराम बरालले युवा पुस्तालाई आकर्षण गर्ने खालका कार्यक्रम आवश्यक भएको उल्लेख गरे । उनले कृषि पर्यटनलाईसँगसँगै अगाडि बढाउन सके मात्रै नीति तथा कार्यक्रम थप प्रभावकारी बनाउन सकिने उल्लेख गरे । कृषि बिमा समेत प्रभावकारी बनाउन आग्रह गरे ।
आइभिआई पोटेनसिएल इन्स्युरेन्स पोखराका प्रतिनिधि नवराज पौडेलले बिमाका नीति नियम र कानुनले साथ दिएका विषयमा बिमाले भुक्तानी गरिरहेको दावी गरे । खाद्य व्यवस्था तथा गुणस्तर कार्यालय पोखराका प्रमुख रन्जना केसीले न्युनतम समर्थन मूल्यमा कृषकका उत्पादन आफूहरूले खरिद गरिरहेको भन्दै दिर्घकालीन मौज्दान रहने खाद्यान्नको न्युनतम समर्थन मूल्यमा खरिद गरिने उल्लेख गरिन् ।
पोखरा महानगर आर्थिक महाशाखा प्रमुख मनहर कडरियाले कृषि क्षेत्रमा जिसस कास्कीले गरेको समन्वयात्मक भूमिका उल्लेखनीय भएको भन्दै उचित प्रतिफल दिनेमा आफू विश्वस्त रहेको भएको उल्लेख गरे । जिल्ला समन्वय समिति कास्कीका सदस्य राजु अधिकारीले भइरहेका सकारात्मक कार्यक्रमको समीक्षासहित आगामी वर्ष परिमार्जित नीति कार्यक्रम लागू गर्न पालिकाहरूलाई आग्रह गरे ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख सरिता मालले स्वागत र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए । कास्की जिल्लामा कृषि तथा पशुपालन क्षेत्रमा आबद्ध कृषक एवं बिमा कम्पनीसहित सरोकार राख्नेको कार्यक्रममा उपस्थिति रहेको थियो ।