पोखरा । १९ वर्षमुनिको महिला विश्वकपको एशिया छनोटको तेस्रो खेलमा नेपाल युएईसँग पराजित भएको छ । नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भएको छ । युएईले दिएको १ सय २३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १ सय नौ रन मात्र बनाउन सक्यो ।
त्यसअघि युएईको अजमानमा टस जितेर ब्यटिङ गरेको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय २२ रनको बनाएको थियो ।
जतिसँगै युएई तीन खेलमा छ अंकसाथ तालिकाको शीर्ष स्थानमा छ भने नेपाल समान खेलमा चार अंकसहित दोस्रो स्थानमा छ ।
प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष हुने टोली आइसिसी १९ वर्ष मुनिको महिला टि–२० विश्वकपका लागि छनोट हुनेछ । विश्वकप अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।