रवि र छवि दुबैलाई १० दिन हिरासतमा राख्न अदालतको अनुमति

रवि र छवि दुबैलाई १० दिन हिरासतमा राख्न अदालतको अनुमति

rabi court 4

फाइल तस्बिर

पोखरा ।  पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा राख्न मंगलबार म्याद थप भएको छ । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले १० दिन हिरासतमा राख्न अनुमति दिएकाे हाे । सहकारी ठगी प्रकरणमा उनी पक्राउ परेका हुन् । रास्वपा कार्यकर्ताले रविलाई अदालत लाने बेलामा भने पाेखराको वाइचोकमा विराेध प्रदर्शन गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापति एवं गोर्खा मिडियाका तत्कालीन सञ्चालक लामिछाने र अर्का सञ्चालक पूर्वडिआइजी छविलाल जोशीलाई म्याद थपका लागि आज अदालत लगिएकाे थियाे । जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले रवि र छवि दुबैकाे म्याद १० दिन थप भएको बताए ।

उनीहरुलाई  जिल्ला अदालत कास्कीले हिरासतमा राख्न यसअघि ६ दिनको अनुमति दिएको थियो । पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा रवि र छवि दुवै पक्राउ परेका हुन् ।

एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहितका व्यक्तिलाई सहकारी ठगी प्रकरणमा कारबाही गर्न सिफारिस गरेको थियो । सहकारीहरुबाट रविसमेत सञ्चालक रहेको ग्यालेक्सी फोरके टेलिभिजनको खातामा ६५ करोड ५४ लाख रुपैयाँ गएको छानबिनले देखाएको थियो । सूर्यदर्शन, सुप्रिम, सहारा चितवन, स्वर्णलक्ष्मी सहकारी र सानो पाइला सहकारीबाट ६५ करोड ५४ लाख ४ हजार ५ सय ३८ रुपैयाँ गोर्खा मिडियामा प्रवाह भएको देखिएको प्रतिवदेनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया