गण्डकीका मुख्यमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक

गण्डकीका मुख्यमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक

विन्दुकुमार सबै भन्दा धनी

Surendra

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको सम्पति विवरण सार्वजनिक भएको छ । गत कात्तिक १२ गतेको मन्त्री परिषद्को निर्णय अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट मार्फत् मुख्य मन्त्री तथा मन्त्रीहरुको सम्पत्ति सार्वजनिक गरिएको हो । जेठ १६ मा नियुक्त मुख्यमन्त्रीसहित मन्त्रीहरु, भदौ १७ मा नियुक्त एमालेका मन्त्री अनि पछिल्लो पटक कात्तिक ५ गते वन मन्त्रीमा नियुक्त भेषबहादुर पौडेल समेतको सम्पति विवरण वेवसाइटमा राखिएको छ ।

गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषदका सदस्यले नियुक्त भएको ६० दिनभित्र सम्पति विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान राखेको भएपनि आफैले बनाएको आचारसंहिता सरकारले बारम्बार कुल्चिँदै आएको छ । भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनले मन्त्रीहहरुको सम्पति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग गोरखासहित, काठमाडौं, भक्तपुर र कपिलवस्तुमा पैतृक जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । उनको गोरखामा ५ रोपनी १० आना १ दाम जग्गा र घर छ । त्यसबाहेक ३५ रोपनीभन्दा बढी जग्गा छ । काठमाडौं महानगरपालिका ३ मा २ सय १२ वर्गमिटरमा घर छ । भक्तपुर र कपिलवस्तुमा पनि उनको जग्गा छ । मुख्यमन्त्री पाण्डे व्यवसायमा पनि संलग्न छन् । दियालो फुडल्यान्ड प्रालिमा उनको ६१ हजार १ सय कित्ता सेयर छ । पत्नी बिना, छोरा सुयोग्य र आफ्नो नाममा गरी विभिन्न बैंक तथा वित्तीय संस्थामा १४ हजार कित्ता सेयर छ ।

मुख्यमन्त्री पाण्डेले अघिल्लो कार्यकालमा भन्दा यसपालि ३ तोला सुन बढी देखाएका छन् । पहिला ४२ तोला सुन र ५ सय तोला चाँदी उल्लेख गरेकामा अहिले ४५ तोला सुन र ७ सय तोला चाँदी रहेको उल्लेख गरेका छन् । २ सेट हिरा र १ सेट मोती क्रमश जग्गा बेचेर र तलबबाट किनेको उल्लेख छ । व्यवसाय, तलब र जग्गा बिक्रीबाट एभरेस्ट बैंकमा २७ लाख ६६ हजार मौज्दात छ । पत्नी बिनाको नाममा प्रभु र ग्लोबल आइएमइ बैंकमा ७० लाखभन्दा बढी रकम छ । जुन तलब तथा उपदानको हो । छोरा सुयोग्यराज पाण्डेको ग्लोबल आइएमई बैंकमा ४ लाख ७८ हजार बैंक मौज्दात छ । जुन बिमा रकम फिर्ताबाट आएको उल्लेख छ ।

अघिल्लो पटक पत्नीका नाममा ६२ लाख रुपैयाँ ऋणमा कार खरिद देखाएका मुख्यमन्त्रीले अहिले ऋण देखाएका छैनन् । पत्नीका नामा मारुती बलेनो कार देखाइएको छ । मुख्यमन्त्री पाण्डेले राष्ट्रिय वाणिज्य बैंकमा ओभर ड्राफ्ट रहेको ५० लाखमध्ये २३ लाख निकालेको विवरण यसपालि राखेका छैनन् ।

पद्मा जिसीसँग काठमाडौं र कावासोतीमा घर

गण्डकी प्रदेशको भूमि व्यवस्था तथा कृषि मन्त्री पद्मा जिसी श्रेष्ठसँग आफ्नो र श्रीमानको नाममा घरजग्गा र सम्पत्ति छ । उनको काठमाडौं टोखामा र नवलपुरको कावासोतीमा घर छ । कावासोतीमा ४ कित्तामा उनको जग्गा छ भने श्रीमान तथा पूर्वसांसद जीवनराम श्रेष्ठको नाममा ४ कित्ता जग्गा छ । श्रेष्ठसँग ३१ तोला सुन र २८५ तोला चाँदी छ ।

१ लाख ११ हजार रुपैयाँमात्र बैंक मौज्दात खुलाएकी जिसीको एनएमबी बैंकमा ३९ लाख ९० हजार व्यक्तिगत ऋण रहेको उल्लेख गरेकी छन् । श्रीमान जीवनको नाममा ३७ लाख रुपैयाँको गाडी समेत छ । उनको पिपुल्स हाइड्रोमा १० लाख रुपैयाँ, कामना सेवा विकास बैंकमा २ हजार ८ सय कित्ता र कालीगण्डकी सहकारीमा १ लाख सेयर रहेको जिसीले खुलाएकी छन् ।

विन्दु गण्डकीका सबैभन्दा धनी मन्त्री

व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा आएका गण्डकीका सामाजिक विकास तथा खेलकुद मन्त्री विन्दुकुमार थापा मन्त्रीहरु मध्ये सबैभन्दा धनी छन् । थापाको श्रीमती, छोरा र कम्पनीको नाममा प्रशस्त घरजग्गा र शेयर छ । मन्त्रीको थापाको श्रीमती मनलक्ष्मी थापाको नाममा मात्र अर्बौं पर्ने घरजग्गा छ । थापाकै अर्की श्रीमती राधा थापा क्षेत्रीको नाममा १३ ठाउँमा घरजग्गा छ । छोरा सौगातका नाममा १० ठाउँमा शेयर र विभिन्न सम्पत्ति छ भने थापाको विभिन्न कम्पनी, होटल, रिसोर्ट, अटोमा लगानी छ । थापाले पोखरा महानगरपालिकाका ८, ९, १७, २८, २९, ६ नम्बर वडामा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

विन्दुकुमारको नाममा नयाँ बजारमा भव्य ३ घर छन् । पोखरामा ३ वटा होटल तथा रिसोर्ट र २ वटा व्यापारिक भवन छन् । उनले पोखरामा पोखरा बुटिक होटल प्रालि, बगैंचा रिसोर्ट र रोयल हिमालयन रिसोर्ट प्रालि सञ्चालन गरेका छन् । त्यस्तै सिटी ट्रेड मल, गण्डकी ट्रेड हाउस, अंशुभरा स्क्वायर प्रालिलगायतका व्यापारिक भवन पनि छन् । पोखराकै ठूलो मल मध्यमा पर्ने पोखरा ट्रेड मलको मुख्य लगानीकर्ता पनि उनै हुन् ।

थापाले विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गरेका छन् । मेगा बैंकसँग मर्ज हुनु पहिले थापा पोखराको विश्व विकास बैंकका अध्यक्षसमेत थिए । थापा मेगा बैंकको संस्थापक शेयर धनी पनि हुन् । थापासँग अघिल्लो कार्यकालमा भन्दा सुनको मात्रा पनि बढेको छ । अघिल्लो कार्यकालमा कानुनमन्त्री हुँदा उनीसँग ९० तोला सुन रहेकोमा अहिले १६० तोला पुगेको छ । ७ सय ५० तोला चाँदी र २० तोला हिरा रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।

थापासँग २ करोड, १ करोड १२ लाख र १ करोड १६ लाख रुपैयाँका ३ वटा विभिन्न कम्पनीका गाडी छन् । थापाको लुम्विनी विकास बैंकमा ५६ लाख र एनएमबी बैंकमा ६ करोड ६३ लाखको शेयर छ । थापाले मेगा बैंकको ४ लाख, ६८ हजार ५६ कित्ता, सेन्चुरी कमर्सियल बैंकको ९१ हजार ३ सय ६७ र सिद्धार्थ बैंकको ४३ हजार ७ सय ७८ कित्ता सेयर अघिल्लो सम्पत्तिमा खुलाएका थिए । यसपटकको सम्पत्ति विवरणमा भने त्यो शेयरबारे उल्लेख छैन । थापाले एनएमबी बैंकमा १२ करोड ३१ लख, ग्रिन डेभलपमेन्ट बैंकमा १२ करोड ५० लाख, पोखरा फाइनान्समा ८५ करोड, मनोहरजंग राणाबाट ९४ लाख ९५ हजार, अनिता थापाबाट ५५ लाख र ३० लाख रुपैयाँ ऋण लिएको खुलाएका छन् ।

टकराजसँग काठमाडौं र लमजुङमा घर

गण्डकी प्रदेशका अर्थमन्त्र टकराज गुरुङको लमजुङ र काठमाडौंमा घरजग्गा छ । काठमाडौंका २ ठाउँमा २ कित्तामा घरजग्गा रहेको खुलाएका गुरुङको लमजुङ राइनासमा ११ कित्ता जग्गा छन् भने ५ करोड रुपैयाँ बराबरको होटल राइनास होम सञ्चालनमा रहेको खुलाएका छन् । श्रीमतीको नाममा १०÷१० तोला सुनचाँदी रहेको अर्थमन्त्री गुरुङले खुलाएका छन । श्रीमती र आफ्नो नाममा ३३ र १२ लाखका २ वटा गाडी रहेको अर्थमन्त्री गुरुङले खुलाएका छन् ।

बागलुङका कृष्ण पाठकले देखाए पैतृक सम्पत्ति

गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले आफूले जोडेकोभन्दा पैतृक र छोराबुहारीले जोडेको सम्पत्ति विवरण देखाएका छन् । छोराबुहारीको वैदेशिक रोजगारको कमाइबाट काठमाडौंको चन्द्रागिरी नगरपालिकामा १ करोड ४९ लाख रुपंैयाँमा घरजग्गा किनेको उनले उल्लेख गरेका छन् । त्यो जग्गा कृष्णकुमारी पाठक र कविता पाठकको नाममा रहेको छ । पाठकको बागलुङ नगरपालिकामा घर छ । बागलुङ–१२ मा ३ कित्तामा उनले आफ्नो नामको जग्गा देखाएका छन् । उनीसँग ८ तोला सुन र २० तोला चाँदी छ । उनले झण्डै २ लाख बैंक मौज्दात देखाएका छन् भने काठेखोला हाइड्रोपावरमा एक सय कित्ता सेयर रहेको खुलाएका छन् ।

मित्रलालसँग पर्वत र रुपन्देहीमा जग्गा

उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले आफ्नो नाममा पर्वत पैयुँमा र छोराका नाममा रुपन्देहीमा १२ वटा कित्ता जग्गा रहेको विवरणमा खुलाएका छन् । पर्वतबाट चुनाव जितेका बस्यालले करिब ५ रोपनीमा धान खेती गर्ने गरेको उल्लेख गरेका छन् । उनले न्यू अन्नपूर्ण मेट सप्लायर्समा ५० लाख रुपैयाँ लगानी गरेको उल्लेख गरेका छन् । उनीसँग ८ तोला सुन छ । आफूसँग सवारी साधन नभएको बस्यालको भनाइ छ ।

भेषबहादुर पनि काठमाडौ.पोखरा र लमजुङ घर जग्ग

गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलको लमजुङ, काठमाडौं र पोखरामा घरजग्गा छ । पौडेलले ठाउँ–ठाउँमा सम्पत्ति देखाए पनि त्यसको मूल्य भने खुलाएका छैनन् । उनको लमजुङ बेशीसहर बजारमा ८ ठाउँमा जग्गा छ । ८० तोला सुन, ६० तोला चाँदी, ५ सेट हिरा र २५ लाख नगद उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । उनले कृषि विकास बैंक, ग्लोबल आइएमई, एसबीआई बैंकमा खाता रहेको उल्लेख गरे पनि रकम खुलाएका छैनन् । उनको ग्लोबल आईएमई बैंकमा ११ हजार कित्ता र लिबर्टी हाइड्रोमा १८ हजार कित्ता शेयर छ ।

व्यापार व्यवसायसमेत गर्दै राजनीतिमा लागेका पौडेलको गेट वे हिमालयन रिसोर्टका नाममा ८० लाख र ५६ लाखको २ वटा जिप रहेको सम्पत्ति विवरणमा बताएका छन् । उनले अन्य ठाउँमा छिटफुट जग्गा तथा सम्पत्ति हुन सक्ने बताएका छन् । उनले १२ करोड राष्ट्रिय वाणिज्य बैंकबाट, १ करोड सिद्धार्थ बैंकबाट र ५० लाख नबिल बैंकबाट ऋण लिएको खुलाएका छन् ।

फणीन्द्रको गोरखा र काठमाडौंमा घर

गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणिन्द्र देवकोटाको पनि गोरखा पालुङटार र काठमाडौं कीर्तिपुरमा घर छ । उनले काठमाडौंमा पैतृक सम्पत्ति बकसपत्रबाट प्राप्त जग्गामध्ये ९ आना बेचेर घर बनाएको खुलाएका छन् । बण्डा नभएको २ वटा घर बुवा टेकनाथकै नाममा गोरखा पालुङटारमा रहेको देवकोटाको सम्पत्ति विवरणमा उल्लेख छ । ११ वटा कित्तामा पालुङटारमा उनको जग्गा छ । देवकोटाले काठमाडौं कीर्तिपुर–४ मा घर निर्माण भएको जग्गासमेत गरी पैतृक सम्पत्तिबाट १ रोपनी जग्गामध्ये ९ आना बचेर घर बनाएको खुलाएका छन् ।
उनले ६० लाख रुपैयाँ जग्गा किन्नका लागि दाङ निवासी पवन रेग्मीलाई बैना दिएको पनि खुलाएका छन् । उनले चुनावका लागि पवनबाट केही रकम लिएको र उक्त रकम तीन वर्षको व्याजमा कट्टा हुने गरी कारोबार गरेको बताएका छन् । बैनास्वरुप दिएको रकमबाट जग्गा पास गरी दिन बाँकी रहेको तर उक्त जग्गाको मूल्य बढ्दै गएको देवकोटाले खुलाएका छन् । देवकोटासँग १०÷१२ तोला सुनका गहना रहेको उल्लेख गरेका छन् । उनले झण्डै ५ लाख बैंक मौज्दात गरेको बताएका छन् । देवकोटाको एउटा स्कुटर छ । नेपाल लाइफ इन्सुरेन्समा शेयर रहेको र विभिन्न आमा समूह, महिला समूहमा मासिक बचत गरेको देवकोटाले सम्पत्ति विवरणमा खुलाएका छन् ।

प्रकाशबहादुर केसी पनि धनी मन्त्री

गण्डकीका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीको पोखरा र ललितपुरमा घरजग्गा छन् । उनी पनि धनी मन्त्रीमा पर्दछन् । उनको पोखरा १२ मा २ ठाउँमा घरजग्गा छ भने ललितपुर–२ मा पनि उनको घरजग्गा छ । पोखरा–१२, पोखरा–१४, पोखरा वडा नम्बर ६, २३, २४, २९ मा उनको करोडौं पर्ने जग्गाहरु छन् ।

उनीसँग ५ सेट हिरा, ९५ तोला सुन, सवा ११ किलो चाँदी छ । उनले करिब ८० लाख ऋण देखाएका छन् । गण्डकी हाइड्रोमा १ करोड ८० लाख, युनिफाइड हाइड्रोमा ५६ लाख रहेको खुलाएका छन् । माछापुच्छ्रे बैंकमा शेयर रहेको बताए पनि रकम भने उनले खुलाएका छैनन् । श्रीवृद्धि सहकारी र वाराही प्रशारण प्रालिमा उनले शेयर रहेको खुलाएका छन् । १ करोड ९ लाख रुपैयाँ त उनले विभिन्न व्यक्तिलाई ऋण नै दिएका छन् ।उनले पोखरा १२ को घरबाट मासिक ५ लाख रुपैयाँ बहालमार्फत प्राप्त हुने बताएका छन् । उनी एमालेबाट समानुपातिक  सांसद  हुन् ।

प्रतिक्रिया