पोखरा । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले हिमाली जिल्ला मुस्ताङको उपल्लो भेग कोरला नाका अवलोकन भ्रमण गरेका छन् । प्रदेश अन्तर्गतका जिल्लाका महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र अवलोकन भ्रमण गर्ने क्रममा मुस्ताङको कोरला नाकासम्म उनी पुगेका हुन् ।
प्रदेश प्रमुख भट्टले नेपाल–चीन सीमाना छुट्याउने २४ नम्बर पिलरबाट नेपालका भुुभाग निरीक्षण गरे । । त्यसअघि जोमसोममा मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले प्रदेश प्रमुख भट्टलाई कोरला नाका, त्यहाँ नेपाल तर्फका प्रगति विवरण तथा सडकको स्तरोन्नतिका बारेमा जानकारी गराए । उनले चीनतर्फ भवन लगायतका आधुनिक संरचना बनिसकेको जानकारी पनि गराए ।
तिब्बततर्फ भन्सार लगायतका कार्यालयका लागि भव्य भवन र सहरी योजना बनाइसकेकाले नेपालतर्फ पनि आवश्यक संरचना आवश्यक भइसकेको प्रजिअ भुसालले बताए । बेनी जोमसोम र जोमसोम कोरला सडक स्तरोन्नतिमा ढिलाई गर्न नहुने उनको भनाइ थियो । धेरै पहिले नेपाल–तिब्बत व्यापारको महत्वपूर्ण नाका रहेकाले अब यसलाई सहज रुपमा खुलाउन सकेमा गण्डकी प्रदेशसँगै समग्र मुलुककै आर्थिक विकासमा टेवा पुग्ने लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले बताए । नेपाल–चीन जोड्ने अन्य नाकाहरू भन्दा कोरला नाका सुरक्षित र छोटो भएकाले यस नाकालाई नेपाल सरकारले तुरुन्त खोल्न सके व्यापार मात्र होइन, पर्यटन क्षेत्रलाई पनि फाइदा गर्ने उनको भनाइ छ ।
लोमन्थाङ गाउँपालिका वडा नं. २ अध्यक्ष कर्म नाम्ग्याल गुरुङले चीन तर्फका सबै संरचना बनिसकेकाले कोरला नाकालाई सहज रुपमा खुलाउन अब समस्या नरहेको भन्दै पहलका लागि प्रदेश प्रमुखको ध्यानाकर्षण गराए । कोरला नाका खुलाउँदा नेपालको आर्थिक वृद्धिमा सहयोग हुने मुस्ताङका स्थानीय जनप्रतिनिधि, राजनीतिकर्मी र पोखराका व्यवसायीको पनि विश्वास छ । कोरला नाका खुलाउन सके पोखरा आर्थिक केन्द्र बन्न सक्ने नेकपा एमाले लोमन्थाङ गाउँपालिका कमिटी अध्यक्ष लाक्पा वाङ्दी गुरुङले उल्लेख गरे ।
जिल्लाको पर्यटन विकासमा नेपाल सरकार र गण्डकी सरकारले विशेष ध्यान दिनुपर्ने वारागुुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. १ का अध्यक्ष प्रमेश गुरुङले बताए । गण्डकी प्रदेश प्रमुख भट्टले कोरला नाका यस प्रदेशकै महत्वपूर्ण सम्पति रहेकाले सहज रुपमा खोल्ने र आवश्यक संरचना तथा भन्सार सञ्चालनका लागि नेपाल सरकारको ध्यान रहने बताए ।
उपल्लो मुस्ताङसम्मको अवलोकन भ्रमणका क्रममा प्रदेश प्रमुख भट्टले पर्वतका पुलहरू, बञ्जी स्थल, बागलुङ कालिका भगवती दर्शन, मुक्तिनाथ मन्दिरमा दर्शन, घमीको स्याऊ खेती, लोमन्थाङ गाउँ अवलोकन, नेचुङ नजिकैको पाँच तले शिजा झोङ गुफा र कोरला नाकाको नेपाल क्षेत्र अवलोकन भ्रमण गरेका थिए ।