मेलबर्नमा रहेका पोखरेलीहरुको छुट्टै संस्था बनाउने पहल

मेलबर्नमा रहेका पोखरेलीहरुको छुट्टै संस्था बनाउने पहल

photo 2

पाेखरा । नेपालको पोखरा क्षेत्रबाट अष्ट्रेलियाको भिक्टोरिया राज्य अन्तर्गत मेलबर्न लगायत विभिन्न स्थानमा पुगेर बसोबास गर्नेहरु संगठित हुने प्रयासमा रहेका छन। विभिन्न मुलुकमा पुगेका नेपालीहरुले आफ्नो राजनीतिक बिचारको आधारमा मात्र नभएर जातीय र भौगोलिक आधारमा समेत विभिन्न संघ संस्था र समाज स्थापना गर्ने क्रम चलिरहेको छ जसका कारण विदेशमा रहेका नेपालीहरु दर्जनौं संस्थाहरुमा समेत संलग्न हुने गरेका छन।

अष्ट्रेलियाको पारिवारिक भ्रमणमा रहेका नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष एबम नेपाल सरकारको न्युनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष गंगाधर पराजुलीसंगको भेटघाटको क्रममा पनि  पोखरेली युवाहरुले पोखराबाट आएकाहरुलाई संगठित गरेर यथाशिघ्र कुनै संस्था बनाउने सोचाइ रहेको सुनाए। पोखरामा रहेर लामो समय पत्रकारिता र संचारकर्ममा क्रियाशील पराजुली पछिल्लो समय राजनीतिमा सक्रिय छन ।

‘राजनीतिक र जातीय आधारमा मात्र नभएर आफ्नो क्षेत्रको बिकासको निम्ति सकेको सहयोग गर्ने, आफ्नो क्षेत्रका मानिसहरुलाई सुख दुखमा सहयोग गर्ने र आफ्नो क्षेत्रका मानिसहरुको प्रतिभालाई उजागर गर्दै आबश्यक पहिचान र सम्मान गर्नको लागि एउटा संस्था आबश्यक परेको हामीलाई महशुस भएको छ’ भेटघाटको क्रममा पोखराबाट अष्ट्रेलिया आएर बसेका सुमन गुरुङ (आइटी )ले भने।

पोखरा र आसपासको क्षेत्रबाट भिक्टोरिया राज्यमा आएर अध्ययनसँगै विभिन्न पेशा र ब्यबसायमा संलग्न हुनेहरुको संख्या करिब ५ हजार रहेको अनुमान गरिएपनि सबैलाई एकै ठाउँमा आवद्ध गराउने संस्थाको अभावमा संख्या एकिन गर्न नसकिएको र कुनै पोखरेलीलाई केही समस्या पर्दा चाहेर पनि सहयोग गर्न नपाएको अवस्थालाई दृष्टिगत गरि पोखरेलीहरुको संस्थाको आवश्यकता खड्किएको उनीहरुको भनाइ छ।

भिक्टोरियामा चितवन क्षेत्रबाट आएर विभिन्न व्यवसाय र पेशामा संलग्नहरुको बाहुल्यता रहेको र चितवन समाज संगठित भएर विभिन्न गतिविधि समेत संचालन गरिरहेको छ तर पोखरा क्षेत्रबाट आएर बसेकाहरुको अझै सम्म कुनै संस्था नभएको कारण पनि पोखराबाट मेलबर्न, भिक्टोरिया पुग्नेहरुले संस्था बनाएर संगठित हुने सोचाइ बनाएका हुन।

पोखराबाट केहि वर्ष अगाडी अष्ट्रेलिया आएर बसेका र हाल एनआरएन अष्ट्रेलियाका सदस्य समेत रहेका मदनराज पौडेलले भेटघाटको क्रममा संस्था भयो भने त्यहि प्लेटफर्मबाट पोखरा क्षेत्रबाट विभिन्न प्रयोजनमा भ्रमणमा आउनेहरुसँग भेटघाट र अन्तरक्रिया गर्न अनि पोखरा क्षेत्रको समस्या बुझ्न पनि सजिलो हुने बताए ।

नेपाली काँग्रेसको सूचना संचार तथा प्रचार विभागको सदस्य समेत रहेका पराजुलीले  पोखरा लगायत त्यस क्षेत्रका स्थानीय एवम प्रदेश सरकार र यहाँको पनि विभिन्न तहको सरकारबीच समन्वय गरि आपसी सम्बन्ध कायम गर्ने, सहयोगको आदानप्रदान गर्ने लगायतका कामको लागि समन्वय कायम गर्न सकिने भएकोले त्यसतर्फ समेत सक्रिय रहन पोखरेलीहरुलाई आग्रह गरे। संस्था स्थापना गर्दा सबै विचार र सबै जातजाति सहित विभिन्न पेशा र व्यवसाय गर्नेहरुको साथै अध्ययन गर्न आउने बिद्यार्थीहरुलाई पनि समावेश गर्न सके सबै क्षेत्रमा काम गर्न र समन्वय गर्न सहज हुने पराजुलीले सुझाब दिए।

पोखरामा पनि विभिन्न संघसंस्थामा रहेर काम गरेका सुमन गुरुङले पोखरा मेलबर्न समाज वा पोखरा युथ मेलबर्न सोसाइटी नाममा संस्था स्थापना गर्न आवश्यक समन्वयको पहल भइरहेको समेत जानकारी दिए। पोखरेलीहरुको संस्था बनाउन पोखराबाट आएका युवाहरु सुमन गुरुङ र मदनराज पौडेलसहित सुरज अधिकारी, विवेक थापा, विश्वास गुरुङ, नवीन गुरुङ, विशाल गुरुङ, मनोज श्रेष्ठ,  हेम गुरुङ, मीलन गुरुङ, वीरेन्द्र क्षेत्री, निशान गुरुङ, किशोर गुरुङ,  सुगम पराजुली, अजय गुरुङ, अमृत गायक लगायतका युवाहरुले आवश्यक समन्वय र पहल गरिरहेको बुझिएको छ।

प्रतिक्रिया