काठमाडौं । नेपाल विद्युत प्राधिकरणले दुई महिनामा ७ अर्ब ५४ करोड ६१ लाखको विद्युत् भारततर्फ निर्यात भएको छ । प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी ७ अर्बको विद्युत् भारततर्फ निर्यात गरेको जनाएको छ ।
प्राधिकरणले गत साउनमा ३ अर्ब ९९ करोड ५६ लाख र भदौमा ३ अर्ब ५५ करोड पाँच लाखको विद्युत् निर्यात गरेको हो । साउनमा ४९ करोड २८ लाख ६१ हजार र भदौमा ५३ करोड ६२ लाख ९४ हजार युनिट विद्युत् निर्यात भएको प्राधिकरणले जनाएको छ । दुई महिनाको विद्युत् निर्यातको औसत दर प्रतियुनिट ७ रुपैयाँ ३३ पैसा रहेको छ । साउनको प्रति युनिट औसत दर ८ रुपैयाँ ११ पैसा थियो भने भदौमा ६ रुपैयाँ ६२ पैसा रहेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाढीपहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत केन्द्रहरू र प्रसारण लाइनमा क्षतिपुग्दा विद्युत् निर्यात प्रभावित भइरहेको बताए ।
गत आवमा भारतबाट रु १६ अर्ब ९३ करोडको विद्युत् आयात गरिएको थियो । यही अवधिमा रु १७ अर्ब ६ करोडको विद्युत् निर्यात गरिएको थियो ।