पोखरा । पोखराको विन्ध्यवासिनी बसपार्कमा यात्रु सहायता कक्षा राखिएको छ । जिल्ला ट्राफिक कार्यालय कास्कीको पहलमा जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्य तथा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगर र पृथ्वीराजमार्ग वस सञ्चालक कम्पनी प्रालिको सहयोगमा यात्रु सहायता कक्ष राखिएको हो ।
वडा प्रहरी कार्यालय बगर र अस्थायी ट्राफिक पोष्ट बगरको निगरानीमा रहने उक्त यात्रु सहायता कक्ष चाड पर्वलाई लक्षित गरेर राखिएको हो । कार्यक्रममा बोल्दै वडा प्रहरी कार्यालय वगरका प्रमुख प्रहरी निरीक्षक देवराज भट्टराईले यात्रुहरुको सहजताका लागि नै यात्रु सहायता कक्ष राखिएको बताए ।
उनले चालकदलले संवेदशनशील बनेर यात्रुहरुलाई सेवा दिन आग्रह गरे । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगरका अध्यक्ष रामप्रसाद अधिकारीले यात्रुहरुले केही समस्या परेमा निर्धक्क भएर यात्रु सहायत कक्षमा सहयोग लिन आग्रह गरे ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेशका सहसचिव बालकृष्ण पोख्रेलले सवारी साधनमा यात्रुहरुलाई सेवा दिँदा विशेष ख्याल गर्न आग्रह गरे । अस्थायी ट्राफिक पोस्ट बगरका इन्चार्ज प्रहरी नायब निरीक्षक भीमबहादुर खत्रीले यात्रुहरुसँग प्रत्यक्ष जोडिने काम कक्षले गर्ने बताए ।