आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

राष्ट्रिय एकता तथा मेलमिलाप दिवस

आज (पुस १६ गते, शनिबार) राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदैछ।

आज काँग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन्।

प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि ८ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ।

विसं २०३३ पुस १६ गते नेपाली काँग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाइँ, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब ८ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए।

राष्ट्रियता कमजोर हुन नदिन राष्ट्रिय मेलमिलाप तथा एकताको नीति लिई ४६ वर्षअघि आजैका दिन उनीलगायत नेता नेपाल फर्किएका हुन्।

भारत निर्वासनमा रहँदा कोइरालालगायतका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिई आजभन्दा ४६ वर्षअघि आजकै दिन स्वदेश फर्किएका हुन्। देशको सार्वभौमसत्ता संरक्षणका लागि वीपीलगायतका नेता ज्यान बाजी थापेर स्वदेशमै फर्किएका हुन्।

विसं २०१७ पुस १ गतेको तत्कालीन राजा महेन्द्रको शाही ‘कु’पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई करिब ३ महिना सिंहदरबारमा बन्दी बनाइएको थियो। त्यसै वर्ष फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी सुन्दरीजल बन्दी गृह बनाएर जेल स्थानान्तरण गरिएको थियो।

८ वर्षपछि विसं २०२५ मा उपचारका लागि वीपीलाई रिहा गरिएको थियो। रिहापछि उपचारका लागि भारत पुगेका कोइरालाले त्यहाँ निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक क्रियाकलाप पनि सुरु गरेका थिए।

विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लनेबित्तिकै कोइराला, नेता गणेशमान सिंहलगायतलाई फेरि सुन्दरीजलमा लगी बन्दी बनाइएको थियो। विसं २०३४ जेठ २७ गते मिति खाली राखी उपचारपछि फिर्ता भई कारागारमा फर्कने गरी वीपी कोइरालालाई रिहा गरिएको थियो।

त्यसपछि, एक पटक सुन्दरीजल बन्दीगृह फर्काई प्रहरी तालिम केन्द्र महाराजगञ्जमा उनलाई बन्दी बनाइएको थियो। २४ रोपनी क्षेत्रफलको बन्दीगृहलाई २०६१ भदौ २४ गते बिपी संग्रहालयमा परिणत गरिएको छ।

सुन्दरीजलको बन्दीगृहमा बसेकै बेला कोइरालाले ‘श्वेतभैरवी’ कथासंग्रह, ‘सुम्निमा’, ‘बाबुआमा र छोरा’, ‘तीन घुम्ती’, ‘मोदिआइन’ र ‘हिटलर र यहुदी’ उपन्यास, ‘आफ्नो कथा’ (आत्मजीवनी) र जेल बस्दाको दैनिकी (पछि ‘जेल जर्नल’शीर्षकमा प्रकाशित) लेखे।

बन्दीगृहमा बस्नुअघि विसं २००८ मा उनको ‘दोषी चश्मा’ कथासंग्रह प्रकाशन भएको थियो। कोइराला राजनेताका साथै नेपाली आख्यानमा यौन मनोवैज्ञानिक धाराको प्रवर्तकका रुपमा चिनिन्छन्।

विसं २०३३ पुस १६ गतेको मेलमिलाप नीति लिई फर्केपछि फेरि सुन्दरीजल बन्दीगृहमा बन्दी बनाएपछि लेखिएको दैनिकी पनि ‘फेरि सुन्दरीजल’ नामबाट प्रकाशित भएको छ।

यस अवसरमा बिपी संग्रहालयले पनि कार्यक्रम गर्ने जनाइएको छ। प्रत्येक वर्ष मनाइने पुस १६ गतेको मेलमिलाप दिवस औपचारिकतामा मात्र केन्द्रीत भएको टिप्पणी पनि हुने गरेको छ।

प्रतिक्रिया