पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को भ्रष्टाचार, २१ जनाविरुद्ध ४६ करोडभन्दा बढी बिगाे

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को भ्रष्टाचार, २१ जनाविरुद्ध ४६ करोडभन्दा बढी बिगाे

pokhara airport 00

काठमाडौं । चर्चित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्को ठूलो भ्रष्टाचार भएको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ जनाविरुद्ध अभियोगपत्र दायर गरेको छ । आयोगले पूर्वपर्यटनसचिव केदारबहादुर अधिकारीसहित २१ जनाविरुद्ध ४६ करोड रुपैयाँभन्दा बढीको बिगो दाबीसहित आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगद्वारा आइतबार दायर मुद्दामा पूर्वसचिव अधिकारीसहित नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम, राजन पोख्रेल र प्रदीप अधिकारीसहित रहेका छन् । आयोगले दायर गरेको मुद्दामा चिनियाँ ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड तथा परामर्शदाता कम्पनीसमेतलाई प्रतिवादी बनाइएको छ । आयोगले पोखरा विमानस्थलको विषयमा दायर गरेको यो तेस्रो मुद्दा हो । यसअघि, दायर मुद्दाकै अनुसन्धानक्रममा तत्कालीन महानिर्देशक प्रदीप अधिकारी पुर्पक्षका लागि थुनामै रहेका छन् । आयोगले आरोपितहरूसँग ४६ करोड १५ लाख ८४ हजार ४ सय ३४ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा चलाएको हो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा परामर्श सेवा खरिदमा भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

प्राधिकरणका तत्कालीन उपमहानिर्देशक महेन्द्रसिंह रावल, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन आयोजना निर्देशक बाबुराम पौडेल, सोही आयोजनाका उपनिर्देशक प्रवीण न्यौपाने, प्रबन्धक चाँदमाला श्रेष्ठ, विमानस्थलका तत्कालीन आयोजना प्रमुख विनेश मुनकर्मी, लेखा अधिकृत नरेन्द्रराज सैंजु, प्रमोद नेपाल, सविन फुयाँल, तत्कालीन उपप्रबन्धक हिमज्योति थापा, अधिकृत राजाराम चौधरी, परामर्शदाता कम्पनी स्लाट जेभीको मुख्य काम गर्ने यमबहादुर भण्डारी, उद्धव चौलागाईं, शोभेन्द्रराज जोशी, प्रमोद दवाडी र निर्माण व्यवसायी चिनिया सीएएमसी र यसको मुख्य भई काम गर्ने वाङ बो, प्रोजेक्ट म्यानेजर याङ झियाङलाई प्रतिवादी बनाइएको छ ।

उनीहरूलाई कसुरअनुसार छुट्टाछुट्टै बिगो कायम गरिएको आयोग प्रवक्ता सुरेश न्यौपानेले बताए । आयोगले आरोपितहरूको मिलेमतो र संलग्नतामा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा परामर्श सेवा खरिदका क्रममा सो बिगोबराबरको रकम भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको खरिद सम्झौताभित्र रहेको कार्यक्षेत्रगत सर्त सम्झौता र प्रावधानअनुसार २८ लाख अमेरिकी डलरबाटै गर्नुपर्नेमा प्राधिकरणको अन्य स्रोतको रकमबाट थप भुक्तानी गरी परामर्श सेवा खरिद गरेकोलाई आयोगले भ्रष्टाचार औँल्याएको हो ।

प्राधिकरणले परामर्श सेवाबापत ४० करोड ६८ लाख २६ हजार ५६८ रुपैयाँ ५९ पैसा भुक्तानी गरी राज्यकोषको रकम भ्रष्टाचार गरेको अभियोगपत्रमा उल्लेख छ । सम्झौताबमोजिम २८ लाख अमेरिकी डलरभित्रैबाट हुनुपर्ने कामलाई नागरिक उड्डयन प्राधिकरणको थप रकमबाट गराएर भएको भ्रष्टाचारमा चिनियाँ कम्पनीलाई समेत दोषी करार गर्दै आयोगले अभियोगपत्र दायर गरेको हो । परामर्शदाता कम्पनी नियुक्तिका लागि विनियोजित २८ लाख अमेरिकी डलरमध्ये २७ लाख ९० हजार अमेरिकी डलर चिनियाँ निर्माण कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनीलाई नै भुक्तानी गर्ने प्रपञ्चमा चिनियाँ ठेकेदार कम्पनी र नेपाली राष्ट्रसेवक कर्मचारीले देशको कानुन, राष्ट्रियता तथा कार्यक्षेत्रगत सम्झौता र सर्त उल्लंघन गरेको आयोगको निष्कर्ष छ ।

आयोगको अनुसन्धानले ४६ करोड १५ लाख ८४ हजार ४३४ रुपैयाँ हिनामिना हानी नोक्सानी र दुरुपयोग भएको निष्कर्ष निकालेको छ भने आरोपितबाट ४३ करोड ९४ लाख ७४ हजार ३०२ रुपैयाँ ५९ पैसा असुल उपर गर्नुपर्ने मागदावी छ । आयोगले दायर गरेको मुद्दामा पर्यटनसचिव अधिकारीलाई प्रमुख आरोपित बनाइएको छ भने ४६ करोड १५ लाख ८४ हजार ४३४ रुपैयाँ असुल मागदाबी गरिएको छ ।

यस्तै प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतमसँग ८ करोड ९५ लाख २ हजार ७८० बिगो असुल मागदाबी गरिएको छ । अर्का तत्कालीन महानिर्देशक राजन पोखरेलसँग ४६ करोड १५ लाख ८४ हजार ४३४ मागदाबी गरिएको छ । आयोगले तत्कालीन उपमहानिर्देशक महेन्द्रसिंह रावलसँग ८ करोड ९५ लाख २ हजार ७८० रुपैयाँ, निर्देशक ध्रुवदास भोछिभोयाको हकमा निजको श्रीमती यमुनादेवी श्रेष्ठसँग ६ करोड ७३ लाख ९२ हजार ६४८ रुपैयाँ ५९ पैसा असुल मागदाबी राखिएको छ । मुद्दामा पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई पनि प्रमुख अभियुक्तकै हिसाबले ४६ करोड १५ लाख ८४ हजार ४३४ रुपैयाँ असुल मागदाबी गरिएको छ भने आयोजना निर्देशक बाबुराम पौडेलसँग ८ करोड ९५ लाख २ हजार ७८० रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

यस्तै गौरव आयोजनाका तत्कालीन उपनिर्देशक प्रवीण न्यौपाने, तत्कालीन प्रबन्धक चाँदमाला श्रेष्ठ, आयोजना प्रमुख विनेश मुनकर्मी, गौरव आयोजनाका तत्कालीन उपप्रबन्धक सविन फुयाँल, तत्कालीन अधिकृत राजाराम चौधरी, परामर्शदाता कम्पनीका यमबहादुर भण्डारी, उद्धव चौलागाईं, शोभेन्द्रराज जोशी र प्रमोद दवाडी तथा चिनियाँ ठेकेदार कम्पनीसँग जनही ४६ करोड १५ लाख ८४ हजार ४३४ रुपैयाँ मागदाबी गरिएको छ । यस्तै, आरोपपत्रमा वरिष्ठ लेखा अधिकृत नरेन्द्रराज सैंजु, लेखा अधिकृत उपप्रबन्धक प्रमोद नेपाल र वरिष्ठ लेखा अधिकृत सविन फुयाँललाई भने जनही ८ करोड ९५ लाख २ हजार ७८० रुपैयाँ बिगो असुल दाबी गरिएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds