काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख रुपैयाँ सङ्कलन भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गर्दै विभिन्न ८३ वटा उद्योगी तथा व्यापारिक समूह र परोपकारी व्यक्तिहरूले उक्त रकम सरकारलाई उपलब्ध गराएका हुन् ।

रसुवाका बाढीपीडितका लागि खर्च गर्ने उद्देश्यले सो रकम प्रदान गरिएको हो । प्रधानमन्त्री राहत तथा उद्धार कोषका लागि अर्थ मन्त्रालयमार्फत भौतिक रूपमा सहयोग रकम सङ्कलन गर्न सरकारले भदौ ११ गतेदेखि सुरु गरेको थियो । त्यसयताकै सबैभन्दा धेरै रकम आज अर्थ मन्त्रालयमार्फत प्राप्त भएको हो । आज अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र निमित्त अर्थसचिव उत्तर खत्रीमार्फत दाताहरूले हस्तान्तरण गरेको चेकको कुल रकम ६० करोड २ लाख २० हजार १०६ रुपैयाँ ६२ पैसा रहेको छ ।