सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

रसुवा बाढीको वितण्डा

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

sena

काठमाडौँ। रसुवाको भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा बेपत्ता भएकाको खोज तथा उद्धारलाई नेपाली सेनाले तीव्र बनाएको छ । हवाई तथा स्थलगत उद्धारसँगै बाढीका कारण प्रभावित विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा विदेशी विज्ञसहितको संयुक्त टोली परिचालन गरी खोजी कार्य अघि बढाइएको हो ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली सेनाले सोमबार हवाई साधनमार्फत एक जना जर्मन नागरिकसहित १०९ जनाको उद्धार गरेको छ । बाढी प्रभावित क्षेत्रका जङ्गल, डाँडाकाँडा, खोला तथा बस्तीमा समेत पैदल गस्ती गरी बेपत्ताको खोजी, उद्धारको आवश्यकता पहिचान र स्थानीय बासिन्दालाई सुरक्षा प्रत्याभूति दिलाउने काम भइरहेको छ ।

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा टनेल हेड फेला परेको छ । सुरुङभित्र कम्प्रेसरमार्फत हावा पठाउने कार्य भइरहेको तथा जमेको पानी निकाल्ने काम जारी रहेको निर्देशनालयले जनाएको छ । सुरुङको पछाडितर्फबाट वैकल्पिक मार्ग खोल्न तीन वटा एक्स्काभेटर प्रयोग गरी करिब १५ मिटर भाग खोलिएको छ । त्यस्तै, त्रिशूली–३ ‘बी’ को सुरुङमा विज्ञसहितको नेपाली सेनाको टोली एक्स्काभेटर प्रयोग गरी खोज तथा उद्धारमा खटिएको छ । चिलिमे हाइड्रोको सुरुङमा विदेशी विज्ञसहितको संयुक्त उद्धार टोली करिब ३५ मिटरसम्म प्रवेश गरी अगाडिको भाग सफा गर्ने काममा जुटेको छ ।

अपर त्रिशूली–१ आयोजनाको मैलुङतर्फ करिब २०० मिटर र हाँकूतर्फ करिब तीन सय मिटरसम्म पुगेर खोजी गरिएको छ । रसुवागढी हाइड्रोको सुरुङमा संयुक्त उद्धार टोली करिब २५० मिटरसम्म पुगेपछि सुरुङको बन्द भाग फेला परेको छ । लाङटाङ हाइड्रोको सुरुङमा पनि संयुक्त उद्धार टोली करिब ६५ मिटरसम्म प्रवेश गरी एक शव सङ्कलन गरेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds