फेरान टोरेसले अतिरिक्त समयमा गरेको निर्णायक गोलको मद्दतमा स्पेनले अर्जेन्टिनालाई १-० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ।

यो स्पेनको इतिहासमा दोस्रो पुरुष विश्वकप उपाधि हो। सन् २०१० मा स्पेनले पहिलो पटक विश्वकप जितेको थियाे।
न्युयोर्क–न्युजर्सी स्टेडियममा आइतबार भएको फाइनलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएको थियो। इन्जुरी समयको तेस्रो मिनेटमा एन्जो फर्नान्डेजले दोस्रो पहेंलो कार्ड पाएपछि रातो कार्डसहित मैदान छाडे र अर्जेन्टिना १० खेलाडीमा सीमित भयो।
अतिरिक्त समयको १६ औं मिनेटमा वैकल्पिक खेलाडी निको विलियम्सको हेडरबाट आएको बललाई टोरेसले नजिकबाट शक्तिशाली प्रहार गर्दै स्पेनका लागि विजयी गोल गरे।
युरोपियन च्याम्पियन स्पेनले खेलभर उत्कृष्ट अवसर सिर्जना गरेको थियो। लामिन यामाल र मिकेल ओयार्जाबालका प्रहारलाई अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले बचाउ गरे। अतिरिक्त समयअघि यामालको फ्रिकिक पनि मार्टिनेजले शानदार रूपमा रोके ।
स्पेनले लगातार दबाब बनाए पनि अर्जेन्टिनाले रक्षात्मक खेल अपनायो। पटक–पटक खेल रोकिँदा र फाउल धेरै हुँदा फाइनल अपेक्षाअनुसार आकर्षक बन्न सकेन।
स्पेनका विलियम्सले अतिरिक्त समयमा अर्को गोल पनि गरे। तर वैकल्पिक खेलाडी मिकेल मेरिनोले निकोलस ओटामेन्डीमाथि फाउल गरेको ठहर गर्दै रेफ्रीले उक्त गोल रद्द गरेका थिए।
नकआउट चरणमा इजिप्ट र इंग्ल्यान्डविरुद्ध पुनरागमन गर्दै जित निकालेको अर्जेन्टिनाले फाइनलमा भने त्यस्तो प्रदर्शन दोहोर्याउन सकेन। टोरेसको निर्णायक गोलसँगै स्पेन दोस्रो पटक विश्व फुटबलको सर्वोच्च उपाधि जित्न सफल भयो।