काठमाडौँ । विश्वकप आयोजक मेक्सिको र दक्षिण अफ्रिका फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘ए’ अन्तर्गत बिहीबार बिहान भएको खेलमा मेक्सिकोले चेक रिपब्लिकलाई ३–० गोलले हरायो । मेक्सिको समूहमा शतप्रतिशत जित निकाल्दै नकआउट चरणमा प्रवेश गरेको हो ।


अर्को खेलमा दक्षिण अफ्रिकाले एसियाली टोली दक्षिण कोरियालाई १–० गोलले हराउँदै नकआउट चरणमा स्थान बनाएको हो । मेक्सिको सिटी स्टेडियममा घरेलु टोली मेक्सिकोलाई जिताउन माटेओ चाभेजले ५५औँ, जुलियन क्विनोनेसले ६१औँ र दोस्रो हाफको इन्जुरी समयमा अल्भारोले गोल गर्नुभयो । जितसँगै तीन खेलबाट नौ अङ्क बनाएको मेक्सिको शीर्षस्थानमा रह्यो । पराजित चेक रिपब्लिक विश्वकपबाट बाहिरियो ।
यस्तै अर्को खेलका दक्षिण अफ्रिकालाई जिताउन थापेलो मासेकोले ६३औँ मिनेटमा निर्णायक गोल गर्नुभयो । यस जितसँगै चौँथो पटक विश्वकप खेलेको दक्षिण अफ्रिकाले पहिलो पटक समूह चरण पार गरेको हो । दक्षिण अफ्रकाले यसअघि सन् १९९८, २००२ र २०१० मा विश्वकप खेलेपनि समूह चरण पार गर्न सकेको थिएन । समूहमा चार अङ्क बनाएको दक्षिण अफ्रिका दोस्रो स्थानमा रह्यो । तीन अङ्क बनाएको दक्षिण कोरियाको पनि नकआउट चरण पुग्ने सम्भावना झिनो रहेको छ । एजेन्सी
