नेपाल समूह विजेता बन्दै एसियन गेम्समा छनोट

नेपाल समूह विजेता बन्दै एसियन गेम्समा छनोट

akakaka

काठमाडौँ । नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगितामा छनोट भएको छ । समूह ‘ए’ अन्तर्गत सिङ्गापुरको राष्ट्रिय क्रिकेट स्टेडियममा बिहीबार भएको खेलमा नेपालले मलेसियालाई १६७ रनले हरायो । लगातार दोस्रो जित निकालेको नेपालले यसअघि पहिलो खेलमा चीनलाई चीनलाई २२१ रनले हराएको थियो ।

जितका लागि दुई सय ७६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको मलेसिया निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा  एक सय आठ रनमा समेटियो ।  मलेसियाका लागि कप्तान सयद अजिजले अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले ४५ बलमा ६ चौका दुई छक्काको सहयोगमा ५४ रन बनाउनुभयो । यस्तै शर्विन मुनियान्डीले १८ र ओपनर मोहमद हाजिकले १३ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङमा नेपालका शेर मल्लले तीन विकेट लिनुभयो । सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले एक एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा दुई सय ७५ रन बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेलले विष्फोटक शतक प्रहार गर्नुभयो । कुशलले सर्वाधिक एक सय २६ रन बनाउनुभयो । कुशलले ५४ बलमा १४ चौका र आठ छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस प्रतियोगिताका लगातार दोस्रो शतक बनाउनुभएका कुशलले चीनविरुद्धको पहिलो खेलमा पनि शतक हान्नुभएको थियो । टी–२० मा तेस्रो शतक बनाउनुभएका कुशल नेपालका लागि लगातार दोस्रो शतक हान्ने पहिलो खेलाडी समेत बन्नुभएको छ ।  यस्तै आशिफ शेखले ६८ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले २४ बलमा पाँच चौका र सात छक्का हान्नुभयो । कप्तान दीपेन्द्रसिंह ऐरीले ३१, सन्दीप जोराले १५ र लोकेश बमले १० र कुशल मल्लले अविजित नौ रन बनाउनुभयो ।

बलिङमा मलेसियाका भिरनदीप सिंहले तीन विकेट लिनुभयो । विजय उनईले र कप्तान सयद अजिजले दुई दुई विकेट लिनुभयो । नेपालले समूह ‘ए’ को आफ्नो पहिलो खेलमा चीनलाई २२१ रनले हराएको थियो । पहिलो जितसँगै नेपालले एसियन गेम्समा स्थान बनाई सकेको थियो । नेपालसँग पराजित मलेसियाले पनि यसअघिनै एसियन गेम्समा स्थान बनाई सकेको छ । लगातार दोस्रो हार खेपेको चीन बाहिरिएको थियो ।

समूह ‘बी’ मा ओमान, हङकङ, बहराइन र सिङ्गापुर रहेको छ । समूहका शीर्ष दुई टोली एसियन गेम्समा छनोट हुने प्रावधान रहेको छ ।

प्रतिक्रिया