काठमाडौं । काठमाडौंको सुकेधारामा एक महिलामाथि खुर्सानीको धुलो छर्केर लुटपाट गरी फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं बूढानीलकण्ठ नगरपालिका–३ चपली भद्रकाली बस्ने ४० वर्षीय गणेश कार्की र इलाम घर भई विभिन्न धर्मशालामा बस्दै आएका ३१ वर्षीय विष्णु गुरुङ रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार जेठ १६ गते दिउँसो १ः२३ बजे काठमाडौंको सुकेधारामा एक महिलाको आँखामा खुर्सानीको धुलो हाली सिक्री र मोबाइल लुटेर फरार भएका उनीहरूको खोजतलास भइरहेको थियो। सोही दिन राति ९ः२५ बजे काठमाडौं महानगरपालिका–३२ जडीबुटीस्थित मनोहरा खोला करिडोर क्षेत्रमा उनीहरूलाई फेला पारिएको थियो।
पक्राउ गर्ने क्रममा गणेश कार्कीले प्रहरी कर्मचारीको आँखामा समेत खुर्सानीको धुलो छर्केर खुकुरी प्रहार गर्न खोजेका थिए। प्रहरीले उनको साथबाट लुटिएको सिक्री, मोबाइल फोन र एक थान खुकुरी बरामद गरेको जनाएको छ।
दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
फरार कैदीको लामो आपराधिक इतिहास
प्रहरीका अनुसार पक्राउ परेका गणेश कार्की लामो समयदेखि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहँदै आएका व्यक्ति हुन्। उनीविरुद्ध अभद्र व्यवहार, हातहतियार तथा खरखजाना, कर्तव्य ज्यान, चोरी तथा डाँका चोरीका मुद्दा दर्ता भएका छन्।
कार्की २०६८ सालमा कर्तव्य ज्यान मुद्दामा पक्राउ परेर १० वर्षभन्दा बढी कैद सजाय भुक्तान गरेका थिए। त्यसपछि २०७९ सालमा डाँका चोरी कसुरमा ६ वर्ष कैद सजाय पाएर केन्द्रीय कारागार जगन्नाथदेवलमा रहेका उनी २०८२ भदौ २४ गते फरार भएका थिए।
फरारपछि श्रृंखलाबद्ध अपराधमा संलग्न
कारागारबाट फरार भएपछि कार्कीले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा श्रृंखलाबद्ध लुटपाट र आपराधिक गतिविधि सञ्चालन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
उनले कपन क्षेत्रमा प्रहरीमाथि खुर्सानीको धुलो छर्केर आक्रमण गरेको, गौशालामा बिजुली पसलमा चोरी तथा विदेश जान लागेका व्यक्तिलाई लुटपाट गरेको, शान्तिनगरमा मोबाइल लुटेको, तिलगंगामा आफूलाई प्रहरी भन्दै लागूऔषध र नगद लुटपाट गरेको तथा पशुपति, जोरपाटी, एयरपोर्ट आसपासका क्षेत्रमा समेत विभिन्न व्यक्तिलाई लुटपाट गर्ने गरेको खुलेको छ।
यस्तै, सुन्दरीजल क्षेत्रबाट स्कुटर चोरी गरेको तथा लागूऔषध प्रयोगकर्तालाई प्रहरीको परिचय दिएर लुटपाट गर्ने गरेको समेत अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिको संलग्नताबारे समेत अनुसन्धान जारी रहेको जनाएको छ।