श्रीलंकालाई २–० ले हराउँदै साफ महिला च्याम्पियनसिपमा नेपाल समूह ‘ए’को विजेता बनेको छ। आइतबार गोवास्थित नेहरू रंगशालामा नेपाललाई जित दिलाउन रश्मिकुमारी घिसिङ र रेनुका नगरकोटेले समान एक गोल गरे।
नेपालले लगातार दुई खेलबाट ६ अंक बटुल्यो। पहिलो खेलमा नेपालले भुटानलाई १–० ले हराएको थियो। सो खेलमा डिफेन्डर गीता रानाले निर्णायक गोल गरेकी थिइन्। दोस्रो खेलमा नेपाल जित या बराबरले समूह विजेता बन्ने थियो। समूहमा भुटान एक खेल जितेर तीन अंकसहित उपविजेता बन्यो। श्रीलंका भने दुवै खेलमा पराजित भयो।


दोस्रो खेलमा प्रशिक्षक नवीन न्यौपानेले चार खेलाडी परिवर्तन गरेका थिए। बल पोसेसन बनाए पनि नेपालले गोल गर्न निकै संघर्ष गर्नुपर्यो। नेपालले दुवै हाफमा समान एक गोल गरेको हो। रश्मिसँगै रेखा पौडेल, मीना देउवाले पाएको थुप्रै अवसर गुमाएका थिए।
यही खेलबाट मिडफिल्डर बिर्सना चौधरीले अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेकी छिन्। प्रशिक्षक नवीन न्यौपानेले बिर्सनालाई खेलको ७१औँ मिनेटमा दीपा शाहीको स्थानमा मैदान पठाएका हुन्।अब, नेपालले आजै हुने भारत र बंगलादेशको खेलपछि सेमिफाइनल प्रतिद्वन्दी पाउनेछ। यसअघि नै भारत र बंगलादेश सेमिफाइनल पुगिसकेका छन्। साँझ हुने खेलपछि समूह ‘बी’को विजेता र उपविजता टुंगो लाग्नेछ। समूह ‘बी’मा माल्दिभ्स दुवै खेलमा पराजित हुँदै घर फर्किएको छ।
