पोखरा । पोखरा महानगरपालिकाको मध्यभाग हुँदै बग्ने फिर्केखोलालाई मङ्गलबारभित्र अतिक्रमणमुक्त बनाइने भएको छ । महानगरका आठ वडा हुँदै बग्ने करिब ६ किलोमिटर लामो यो खोलाको बहाव क्षेत्र (खोलाघर) मा बनेका संरचना आइतबारदेखि हटाउन सुरु गरिएको हो । पहिलो दिन आइतबार खोलाघर क्षेत्रमा रहेका आठ स्थायी र १२ अस्थायी गरी २० वटा संरचना हटाइएको छ । २०८० सालमा महानगरको अध्ययन समितिले तयार पारेको प्रतिवेदनअनुसार फिर्केखोलाको बहाव क्षेत्रमा १६० वटा संरचना रहेका छन् ।

नगरप्रमुख धनराज आचार्यले मङ्गलबारसम्म खोलाघर खाली गरिसक्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “फिर्केखोला अतिक्रमण हटाउने अभियानअन्तर्गत आइतबार तीन स्थानबाट संरचना हटाउन थालिएको छ । सोमबारदेखि थप जनशक्ति र उपकरण परिचालन गरी दुई दिनभित्र संरचना हटाइसक्ने लक्ष्य छ ।” संरचना हटाउने क्रममा खोलाको प्राकृतिक बहावमा अवरोध नहोस् भनेर विशेष प्राविधिक टोलीसमेत परिचालन गरिएको छ । टोलीले पुरिएका वा जोखिमयुक्त स्थान पहिचान गरी आवश्यक रणनीति तयार पार्ने नगरप्रमुख आचार्यले जानकारी दिनुभयो ।
महानगरपालिका–१८ को अधेरीकुना मुहान भएको फिर्केखोलामाथि विभिन्न स्थानमा संरचना निर्माण गरिएकाले कतिपय ठाउँमा खोला भएको आभाससमेत हुँदैन । वडा नं. २, १८, ४, ५, ७, ८, ६ र १७ हुँदै फेवातालमा मिसिने फिर्केखोलामा तालभन्दा करिब एक किलोमिटरमाथि बिलौदी खोला पनि मिसिन्छ ।पोखरा महानगरपालिकाले अतिक्रमित संरचना हटाउन दिएको ३५ दिने म्याद शनिबार सकिएपछि आइतबार बिहानदेखि डोजर चलाइएको हो । पहिलो चरणमा खोलाको बहाव क्षेत्र खाली गरिने र दोस्रो चरणमा मापदण्डभित्रका संरचना हटाइने तयारी गरिएको छ । हाल फिर्केखोलाको मापदण्ड किनाराबाट दुवैतर्फ ६ मिटर कायम गरिएको छ ।
खोलाघर क्षेत्रमा रहेका सुकुम्बासीहरूको व्यवस्थापनका लागि तथ्याङ्क सङ्कलनसमेत भइसकेको महानगरले जनाएको छ । अहिले पनि फिर्केखोलाको मुहान अधेरीकुनामा स्थानीयले अँजुलीले उबाएर पानी खाने गर्छन् । तर, महानगरका आठ वडा पार गर्दै फेवातालमा पुग्दा फिर्केखोला ढलमा रूपान्तरण हुने गरेको छ । अतिक्रमण र प्रदूषण हटाएर सौन्दर्यकरण तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फिर्के करिडोर निर्माण गर्ने योजना महानगरको छ । खोलाको दायाँ–बायाँ धेरै स्थानमा सडक रहेकाले पैदलमार्ग, साइकल लेन तथा साना पार्क निर्माण गर्ने योजना बनाइएको छ ।
२०८१ सालमा फिर्केखोलाको नापजाँच गर्ने क्रममा करिडोरको डिजाइनसमेत तयार भइसकेको छ । फिर्के करिडोर निर्माणका लागि करिब ५२ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता एसियाली विकास बैंकले जनाएको थियो । फिर्केखोला खाली गर्ने विषयमा सूचना प्रकाशन भएपछि अदालतमा मुद्दा परेकाले काम रोकिएको थियो । अदालतले महानगरपालिकाको पक्षमा फैसला गरेपछि अहिले पुनः अभियान सुरु गरिएको हो ।