उत्कृष्ट प्रशिक्षकको होडमा तीन सफल पूर्व खेलाडी

पोखरा स्पोर्ट्स अवार्ड

उत्कृष्ट प्रशिक्षकको होडमा तीन सफल पूर्व खेलाडी

sports-awards

पोखरा । १० औं पोखरा स्पोर्ट्स अवार्डको ‘वर्ष उत्कृष्ट प्रशिक्षक’ विधामा यसपटक पूर्व खेलाडीबीच रोचक प्रतिस्पर्धा हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने यस अवार्डको मनोनयनमा तेक्वान्दोकी रेखमाया गुरुङ, टेनिसका कुमार अधिकारी र एथ्लेटिक्सका सिद्धान्त अधिकारी परेका छन् । यी तीनै जना हिजोका सफल खेलाडी हुन् । उनीहरु अहिले नयाँ पुस्तालाई आफ्नो अनुभव बाँडिरहेका छन् । गण्डकी प्रदेश र नेपालको खेलकुदलाई उचाइमा पु¥याउने उनीहरुको साझा लक्ष्य छ । यो त्रिकोणात्मक भिडन्तले अवार्डको गरिमा बढाएको छ । यसले खेलाडीबाट प्रशिक्षक बनेकाहरुको योगदानलाई समेत सम्मान दिएको छ ।

टेनिसका कुमार अधिकारी कास्कीको माटोमा जन्मिएका हुन् । उनले बुवा दुर्गा अधिकारीबाट प्रेरणा पाएर १४ वर्षको उमेरदेखि टेनिस खेल्न थालेका थिए । विसं २०५५ सालदेखि ¥याकेट समाएका उनले सातौँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेका थिए । उनले चीनको ग्वान्जाउमा भएको एशियन गेम्समा नेपालको प्रतिनिधित्व गरे । सन् २०१७ देखि २०२० सम्म उनले माल्दिभ्सको टेनिस टोलीलाई प्रशिक्षण दिएका थिए । सन् २०१८ को १८ औँ एसियन गेम्समा उनले माल्दिभ्सको टोलीलाई नेतृत्व दिए । अहिले उनी पोखरामा आर्यशराज पौडेल र दर्शील श्रेष्ठ जस्ता जुनियर खेलाडी उत्पादनमा जुटेका छन् । उनी यसअघि नै उत्कृष्ट खेलाडीको अवार्ड जितिसकेका पात्र हुन् ।

तेक्वान्दोकी रेखमाया गुरुङ सन् २०१५ देखि प्रशिक्षकको रुपमा सक्रिय छिन् । खेलाडीका रुपमा सफल यात्रापछि उनले यही क्षेत्रमा भविष्य खोज्ने निर्णय गरिन् । उनी अन्तर्राष्ट्रिय रेफ्री समेत हुन् । उनी अहिले प्रदेश तेक्वान्दो संघको सदस्यको रुपमा काम गरिरहेकी छन् । उनलाई केही दिनअघि मात्र गण्डकी प्रदेश सरकारले युवा प्रतिभा सम्मानबाट सम्मानित गरेको थियो । रेखमायाको मुख्य धोको गण्डकीका खेलाडीलाई राष्ट्रिय स्तरमा स्वर्ण दिलाउनु हो । ‘यो मनोनयनले मलाई थप जिम्मेवारी महसुस गराएको छ’, उनले भनिन् । उनी गण्डकीको नतिजा सुधार्न निरन्तर मैदानमा खटिएकी छन् ।

एथ्लेटिक्सका सिद्धान्त अधिकारी पनि यो विधाको बलियो प्रतिस्पर्धी हुन् । ३६ वर्षीय अधिकारीले पाँचौँ र छैटौँ राष्ट्रिय खेलकुदमा पदक जितेका थिए । उनले भारतको आर्मी स्पोट्र्स इन्स्टिच्युट (एएसआई) बाट स्पोट्र्स साइन्समा डिप्लोमा गरेका छन् । उनले भारतमै एक वर्ष प्रशिक्षकको अनुभव बटुलेर सन् २०१९ मा नेपाल फर्किएका हुन् । नेपालमा वैज्ञानिक पद्धतिको अभाव देखेपछि उनले सन् २०२१ मा हिमालयन एलिट्स रन प्रोजेक्ट सुरु गरे । उनले हालसम्म कुनै सरकारी पारिश्रमिक नलिई खेलाडीलाई निःशुल्क प्रशिक्षण दिइरहेका छन् । उनकै प्रशिक्षणमा नारायणी भण्डारी र बादल कार्की जस्ता खेलाडी निखारिँदैछन् । उनी अहिले कास्की जिल्ला एथ्लेटिक्स संघको सचिव समेत हुन् ।

यो अवार्डको प्रतिस्पर्धामा रहेका तीनै जनाको आ–आफ्नै विशेषता छन् । रेखमाया महिला खेलाडीलाई खेलमै टिकाइराख्न प्रयासरत छिन् । कुमार आफ्नो अन्तर्राष्ट्रिय अनुभव पोखराको टेनिस कोर्टमा खन्याउँदैछन् । सिद्धान्त भने एथ्लेटिक्समा वैज्ञानिक पद्धति भित्र्याउन तल्लीन छन् । यी तीनै पात्रले हिजो मैदानमा पसिना बगाएर पदक जितेका थिए । आज उनीहरु त्यही अनुभव नयाँ खेलाडीलाई बाँडिरहेका छन् । यो अवार्डले उनीहरुको व्यावसायिकता र समर्पणलाई कदर गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया