काठमाडौं । चालू आर्थिक वर्षको पहिलो आठ महिनासम्म आइपुग्दा नेपालको वैदेशिक व्यापार संरचनामा सुधार संकेत देखिए पनि समग्र सन्तुलन भने झन् कमजोर बनेको छ । भन्सार विभागका अनुसार मुलुकले करिब ११ खर्ब रुपैयाँबराबरको व्यापार घाटा ब्यहोरेको छ । कुल वैदेशिक व्यापार १४ खर्ब ४० अर्बभन्दा बढी हुँदा आयात १२ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ भने निर्यात १ खर्ब ९१ अर्बमै सीमित भएको छ ।

यसरी हेर्दा आयात र निर्यातबीचको अन्तर अत्यधिक फराकिलो रहँदा व्यापार घाटा १० खर्ब ९८ अर्ब रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको सोही अवधिसँग तुलना गर्दा आयात करिब १२ दशमलव ५४ प्रतिशत र निर्यात २० प्रतिशतभन्दा बढीले बढेको छ । निर्यात वृद्धिलाई सकारात्मक रूपमा लिन सकिए पनि यसको आधार सानो भएकाले समग्र व्यापार सन्तुलनमा खासै सुधार हुन सकेको छैन । आयात–निर्यात अनुपात अझै पनि १ः६ भन्दा बढीको हाराहारीमा रहनुले नेपालको अर्थतन्त्र आयातमा निर्भर रहेको स्पष्ट पार्छ ।
आर्थिक वर्ष सुरुवातदेखि नै व्यापार घाटा निरन्तर बढ्दोक्रममा देखिएको थियो । पहिलो महिनादेखि नै घाटा उच्च देखिन थालेको थियो भने पाँच महिनासम्म आइपुग्दा यो ६ खर्ब रुपैयाँ नाघिसकेको थियो । सात महिनामा पुग्दा घाटा ९ खर्ब ५५ अर्ब रुपैयाँ पार गरेको थियो । आयात संरचना विश्लेषण गर्दा नेपालको अर्थतन्त्र अझै पनि उपभोगमुखी रहेको स्पष्ट हुन्छ ।
पेट्रोलियम पदार्थ आयात सबैभन्दा ठूलो हिस्सा ओगटेको छ । डिजेल, पेट्रोल र एलपी ग्यासमा मात्रै अर्बौं रुपैयाँ बाहिरिएको छ । ऊर्जा क्षेत्रमा आत्मनिर्भर हुन नसक्दा विदेशी मुद्रा बाहिरिने दबाब निरन्तर बढिरहेको छ । यससँगै कच्चा भटमास तेल, फलामजन्य वस्तु, मोबाइल फोन, सुन र चाँदीजस्ता वस्तु आयात पनि उल्लेख्य छ । खाद्यान्न क्षेत्रमा पनि नेपाल अझै आत्मनिर्भर हुन सकेको छैन ।