पोखरा । २१औं नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप वर्षाका कारण प्रभावित बनेको छ। छ वर्षपछि आयोजना गरिएको प्रतियोगितामा शुक्रबार साँझदेखि परेको अविरल वर्षाले शनिबारका प्रतिस्पर्धा रद्द भएपछि आयोजकले अघिल्ला दिनका नतिजाका आधारमा विजेता घोषणा गरेको हो।
पुरुषतर्फ भारतका अक्षय कुमार पहिलो, चीनका झोउ चेन दोस्रो र भारतकै इमान रुम्टेल तेस्रो भए। उनीहरूले क्रमशः १ लाख ५० हजार, १ लाख र ५० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे। महिलातर्फ चीनकी कोङ सियाङ यान प्रथम, नेपालकी दुर्गामाया गुरुङ द्वितीय र भारतकी श्रेयसी तामाङ तृतीय भइन्। उनीहरूले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार पाए।
समूहगततर्फ टिम फ्लाई भारकाला पहिलो, टिम इन्डो–नेपाल दोस्रो र टिम नेपाल तेस्रो भए। विजेताहरूले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ प्राप्त गरे। नेपाल हवाई खेलकुद संस्था को आयोजनामा बिहीबारदेखि सुरु भएको प्रतियोगिता शनिबार सकिने तालिका थियो। तर मौसम प्रतिकूल भएसँगै शुक्रबारदेखि उडान प्रभावित भएपछि अभ्यास र प्रतिस्पर्धात्मक उडानका नतिजा जोडेर अन्तिम नतिजा सार्वजनिक गरिएको संयोजक सुनीलबहादुर भट्टराईले बताए।
प्रतियोगितामा नेपाल, भारत, चीन, फ्रान्स र जर्मनीका गरी ६२ पाइलट (५२ पुरुष, १० महिला) सहभागी थिए। संस्थाका अध्यक्ष अनिल केसीले वर्षाका बाबजुद प्रतियोगिता सफल भएको र यसले पोखराको साहसिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।