पोखरा । कास्की–१ मा नेकपा एमालेबाट उम्मेद्वार रहेका बैनबहादुर अधिकारी क्षेत्रीले पोखरा महानगरपालिका–३० का मतदातासँग भेटघाट गरेका छन् । शुक्रबार दिनभर उनले शिशुवा, मोहरिया, खुदीलगायत ठाउँका मतदातासँग भेटघाट गरेका हुन् । उनी मतदाता भेट्न पुग्दा निकै सकारात्मक प्रतिक्रिया पाएका छन् । पोखरा–३० ढुंगेपाटनकी मतदाता इन्दिरा तिवारीले कुनै विवाद नरहेको र निरन्तर यही भूगोलको सेवामा खटिएकाले बैनबहादुरलाई नै मत दिने बताइन् । नयाँ पार्टीबाट कहिल्यै मान्छे नदेखेको, नाम पनि नसुनेको उम्मेद्वार आएकाले जिताउन नसकिने उनको भनाइ छ ।

जेन–जी पुस्ताले नयाँ उम्मेद्वार खोजेको र बैनबहादुर निर्विकल्प रहेको उनले जिकिर गरिन् । ‘जेन–जीले नयाँ–नयाँ भन्दै छन् । बैनबहादुर अधिकारी पहिलोपटक सांसद् लड्नुभएको छ । उहाँ फ्रेस उम्मेद्वार हो,’ तिवारीले थपिन्, ‘यहीँ खट्दै आएको मान्छेलाई नदिएर अरुलाई दिने भन्ने हुँदैन ।’ पोखरा–३० मा आयोजित सभालाई सम्बोधन गर्दै उम्मेद्वार अधिकारीले लेखनाथ क्षेत्रका सडक, मादी र रुपामा बनेका सडक, पृथ्वी राजमार्गले नै एमालेले काम गरे/नगरेको भन्ने देखाउने बताए ।
पोखरा रंगशाला पनि एमालेकै सक्रियतामा भव्य बनेको उनले दाबी गरे । सरकारी कार्यालयमा सेवा प्रवाहमा रहेको ढिलासुस्ती सुधार्न आवश्यक रहेको उनले बताए । ‘संविधान थिचोमिचो भएको छ र त्यसलाई ट्रयाकमा ल्याउनुपर्ने अहिलेको परिस्थिति हो । भ्रष्टाचार नियन्त्रणमा सामूहिक पहल गर्न अबको संसद्को भूमिका हुन्छ । म त्यसमा प्रतिबद्ध छु,’ उनले भने । अधिकारीसँग पोखरा–३० खुदीका मतदाताले खानेपानीको समस्या रहेको गुनासो गरेका थिए । उनले समस्या समाधानका लागि आफूले बुझ्ने र तत्काल सम्भव नभए निर्वाचन पनि पहल गर्ने बताए । एमालेले शनिबार पोखरा–२७ र पोखरा–२९ मा घरदैलो गर्ने तालिका छ ।