काठमाडौं । प्रहरीले गुण्डागर्दीविरुद्ध अपरेशन सञ्चालन गर्ने क्रममा काठमाडौंका विभिन्न ठाउँबाट १८ जनालाई पक्राउ गरेको छ । ‘अपरेसन सेफ्टी काठमाडौं’ अन्तर्गत काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको छुट्टाछुट्टै टोलीले शुक्रबार राति उनीहरुलाई पक्राउ गरेको हो ।

अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले शुक्रबार राति मात्रै किमजोङ बोस, अशोक गिरी, सञ्जीव लामा, सुरेश गुरुङसहित १३ जनालाई उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरी अनुसन्धान थालिएको बताए । ‘रातभर अपरेसन सञ्चालन गर्यौं, ठमेल, दरबारमार्ग, सामाखुसी क्षेत्रमा गुण्डागर्दी गर्नेहरू पक्राउ परेका छन्,’ उनले भने ।
यस्तै, काठमाडौं परिसरबाट पक्राउ पर्नेहरुमा श्याम लामा भन्ने व्यक्तिको समूहमा रहेर गुण्डागर्दी गर्दै आएका डिम्पल भनिने प्रवीण तामाङ, बाफल एरियामा गुण्डागर्दी गर्ने बिर्जु महर्जन, कलंकीको बस टिकट काउन्टर–पेट्रोल पम्प क्षेत्रमा गुण्डागर्दी गर्दै आएका सुजन कार्की र स्युचाटार क्षेत्रका सरु हुमागाईं छन् । सरुले पनि आफ्नै समूह बनाउन थालेको प्रहरीको निष्कर्ष छ । यस्तै, परिसरले बौद्ध क्षेत्रमा लुटपाट तथा गुण्डागर्दीमा संलग्न रहेको आरोपमा बिकी लामालाई पक्राउ गरेको छ ।

This will close in 10 seconds