६ हजार ६ सय २२ विद्यार्थी दीक्षित

६ हजार ६ सय २२ विद्यार्थी दीक्षित

pu

पोखरा । पोखरा विश्वविद्यालयको  २१ औं दीक्षान्त समारोहमा ६ हजार ६ सय २२ विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री एवं विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले विद्यार्थीहरुलाई दीक्षित गराएकी हुन् । उनले विभिन्न पदक प्राप्त विद्यार्थीहरुलाई पदकसमेत प्रदान गरिन् ।कार्यक्रममा उनले देशभित्रै अवसर र सम्भावना पहिल्याउन विश्वविद्यालयहरुले समेत सघाउनुपर्ने विचार राखिन् । कार्कीले युवाहरु राजनेता, प्रशासक, नीति निर्माता र समाज रुपान्तरणका अभियन्तासमेत भएको औंल्याउँदै परिवर्तनलाई आत्मसात गर्दै नवप्रवर्तन र उद्यमशीलताको बाटो समात्न अनुरोध गरिन् ।

देशको समृद्धिमा योगदान नगर्ने शिक्षा सार्थक नहुने उनको भनाइ छ । उनले भनिन्, ‘आर्थिक समृद्धि र मानव कल्याणसँग नजोडिएको ज्ञान वा पाठ्यक्रम सन्दर्भहीन बन्दै जान्छ ।’ प्रधानमन्त्री कार्कीले दीक्षित हुनुलाई शैक्षिक यात्राको समापन नठानी जीवनको नयाँ र महत्वपूर्ण प्रस्थानविन्दुका रुपमा लिन विद्यार्थीहरुलाई अनुरोध गरिन् । ठूलो सङ्ख्यामा युवाहरु विदेशतर्फ आकर्षित हुनु चिन्ताको विषय भएको उल्लेख गर्दै उनले त्यसको कारण र समाधान खोज्नुपर्नेमा जोड दिइन् ।

दीक्षान्त समारोहकी प्रमुख अतिथि लैङ्गिक समानता, महिला अधिकार तथा नीति निर्माणका क्षेत्रमा अग्रणी व्यक्तित्व चाँदनी जोशीले दीक्षित हुनुलाई व्यक्तिगत उपलब्धिका रुपमा मात्र नलिई सामूहिक आशाको क्षणमा रुपान्तर गर्न अनुरोध गरिन् । उनले भनिन्, ‘दीक्षित हुनु भनेको केवल शैक्षिक उपलब्धि प्राप्त गर्नु होइन, यो ज्ञान, सीप, मूल्य र समाजप्रतिको दायित्वलाई औपचारिक रुपमा स्वीकार गर्ने क्षण पनि हो ।

उनले ज्ञानको माध्यमबाट सानो देशले पनि विश्व रंगमञ्चमा प्रभावकारी उपस्थिति जनाउन सक्ने विचार राखिन् । समस्याहरुले नै परिवर्तनको ढोका खोल्ने गरेको अनुभव सुनाउँदै उनले युवाको सपना अवसरको अभावले मर्ने अवस्था आउन नदिन सबैलाई आग्रह गरिन् ।

समारोहमा पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा वेदराज जोशीले विश्वविद्यालयले चाँडै १३ वटा नयाँ कार्यक्रम सुरु गर्ने योजना बनाएको जनाए । रजिष्ट्रार सहप्राडा अजय थापाले विश्वविद्यालयले ७४ वटा शैक्षिक कार्यक्रम चलाइरहेको सुनाए । पोखरा विश्वविद्यालयमा ३७ हजार पाँच सय ९३ विद्यार्थी अध्ययनरत छन् । मधेश र कर्णालीबाहेक पाँच प्रदेशमा ६६ शैक्षिक संस्था छन् ।

प्रधानमन्त्री कार्कीले शुक्रबारै गण्डकी प्रदेशमा प्रतिनिधिसभा निर्वाचनको तयारी र सुरक्षा अवस्थाबारे जानकारी लिइन् । पोखरा विश्वविद्यालयको दीक्षान्तपछि भएको गण्डकी प्रदेशस्तरीय सुरक्षा बैठकमा सहभागी बनेकी उनी बैठकपछि हेलिकोप्टरबाट लुम्बिनी प्रस्थान गरिन् ।

प्रधानमन्त्रीलाई गण्डकी प्रदेश प्रमुख सचिव डण्डुराज घिमिरे, प्रदेशका सुरक्षा निकायका प्रमुखहरू, कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, प्रदेश निर्वाचन अधिकारी नारायण ढकाल, मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासे लगायतले चुनावी तयारीबारे जानकारी दिएका थिए । उनले चुस्त सुरक्षा व्यवस्था बनाउन र निष्पक्ष र धाँधलीरहित चुनावी माहोल तयार गर्न समेत निर्देशन दिइन् ।

प्रतिक्रिया