प्रदेशको समृद्धिसँगै संघियता बलियो हुुन्छ : प्रदेश प्रमुख भट्ट

प्रदेशको समृद्धिसँगै संघियता बलियो हुुन्छ : प्रदेश प्रमुख भट्ट

pradesh sthapana divas dilliraj bhatta 1

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेशको समृद्धिसँगै संघियता बलियो हुने बताउनुभएको छ । गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा बिहीबार पोखरामा आयोजित कार्यक्रममा भट्टले गण्डकी सरकारले लिएको ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशबासी’ को संकल्प पूरा गर्न सबै एक भएर उद्देश्यप्राप्तिमा लाग्नुपर्ने बताउनुभयो ।

“नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तहलाई आ–आफ्नै कार्यक्षेत्र र अधिकार तोकेको छ ।”उहाँले भन्नुभयो,“जनताको अधिकारलाई जनताकै घरदैलोमा पु¥याउनु र उनीहरुको जीवनस्तर बदल्न बहुआयामिक भूमिका खेल्नु प्रदेशको जिम्मेवारी हो ।” प्रदेशमा देखिने, अनुभव गर्न सकिने र नागरिकको दैनिक जीवनसँग जोडिने काममा गण्डकी प्रदेश सफल बनेको उहाँको भनाइ छ ।

आगामी दिनमा पनि गण्डकी प्रदेश सभा र गण्डकी प्रदेश सरकारबीच सामाजिक, सांस्कृतिक, आर्थिक, न्यायोचित तथा समतामूलक विकास एवं सम्बद्ध कानून निर्माण र कार्यान्वयन विषयमा सहअस्तित्व र समन्वयका आधारमा सहकार्य हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न संवैधानिक अधिकार बमोजिम प्राप्त जिम्मेवारी कार्यान्वयनमा संघीय सरकार तथा स्थानीय तहसँग समन्वय तथा सहकार्य गर्नुपर्नेमा उहाँको जोड छ । उहाँले असल अभ्यासको अनुशरण, वित्तीय अनुशासन एवं मितव्ययी हुन र नागरिकहरुलाई छिटो सेवा प्रवाह गर्नुपर्ने आवश्यकता रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया