पर्यटकीय सहर पोखरामा पछिल्ला केही दिनयता फोहोर संकलन ठप्प हुँदा सडक, चोक र बस्तीमा फोहोर थुप्रिएको छ । व्यवस्थापन नहुँदा पर्यटकीय राजानी सहर पाेखराको सौन्दर्यमा मात्र होइन, जनस्वास्थ्यमा समेत जोखिम बढेको छ । समयमै फोहोर नउठ्दा पोखरा महानगरपालिकाप्रति सर्वसाधारणको असन्तुष्टि चुलिएको छ ।

महानगरले प्रयोग गर्दै आएको पोखरा–३२ लामेआहालको अस्थायी फोहोर व्यवस्थापन केन्द्र भरिएपछि समस्या चर्किएको हो । महानगरका इन्जिनियर तथा ‘रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी सिर्जना परियोजना’का सहजकर्ता नेत्र तिमिल्सिनाका अनुसार नयाँ वैकल्पिक स्थानको खोजी भइरहेको छ । ‘जेनजी आन्दोलनका क्रममा अस्वाभाविक रूपमा धेरै फोहोर निस्कँदा ल्यान्डफिल साइट नै भरियो,’ उनले भने, ‘नयाँ ठाउँ पहिचानका लागि हामी निरन्तर खटिएका छौँ ।’
उनले स्थान अभावका कारण प्रयास हुँदाहुँदै पनि फोहोर व्यवस्थापनकोमा ढिला भएको स्पष्ट पारे । महानगरवासीलाई केही दिन धैर्य गर्न आग्रह गर्दै छिट्टै सडक र चोकमा थुप्रिएको फोहोर व्यवस्थापन गरिने जानकारी उनले दिए । फोहोर लामो समय नउठ्दा दुर्गन्ध फैलिन थालेपछि महानगरले केही दिनअघि सार्वजनिक स्थानमा खाडल खनेर फोहोर पुरेको थियो । तर सडकसँगै घरघरमै फोहोर थुप्रिन थालेकाले तत्काल प्रभावकारी समाधान चाहिएको स्थानीयको माग छ । दीर्घकालीन व्यवस्थापन नहुँदा यस्तो समस्या दोहोरिरहने संकेत देखिएको छ ।
यसअघि पोखरा–१४ बाच्छेबुडुवामा रहेको ल्यान्डफिल साइटबाट फोहोर व्यवस्थापन हुँदै आएको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि उक्त साइट बन्द गरी लामेआहालमा अस्थायी केन्द्र सञ्चालन गरिएको हो । हाल पोखरामा दैनिक १८० देखि २०० टन फोहर उत्पादन भइरहेको छ । फोहरलाई उद्यम र आम्दानीसँग जोड्ने प्रयास भए पनि अनुत्पादक फोहोर व्यवस्थापन महानगरका लागि चुनौतीकै रूपमा रहेको छ । महानगरले कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोगको आर्थिक तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको प्राविधिक सहयोगमा हरित रोजगारी सिर्जना गर्ने परियोजना सञ्चालन गरिरहेको जनाएको छ । यसले रिसाइकलिङ र अपसाइकलिङमा आधारित चक्रीय अर्थतन्त्रलाई प्रवर्धन गर्दै वातावरणीय प्रदूषण र नकारात्मक असर घटाउने अपेक्षा गरिएको छ ।