पोखरा । सशस्त्र प्रहरी बल नेपालको स्थापनाको २५औँ वर्ष (रजत जयन्ती) को अवसरमा कास्कीको पोखरामा विविध कार्यक्रम गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हे.क्वा. कालिका गण कास्कीले पोखरा–५, मालेपाटनस्थित बराही माध्यमिक विद्यालयमा सचेतनामूलक निबन्ध प्रतियोगिता तथा खेलकुद सामग्री वितरण कार्यक्रम गरेको हो।

गणले गत पुस २१ गते विद्यालयमा ‘लागूऔषध दुर्व्यसनी र यसका असर’ विषयक निबन्ध प्रतियोगिता सञ्चालन गरेको थियो। उक्त प्रतियोगितामा उत्कृष्ट हुनेहरुलाई पुस २२ गते पुरस्कृत गरियो। प्रतियोगितामा कक्षा ९ मा अध्ययनरत छात्रा पुजा बैजु प्रथम र मल्लिका परियार द्वितीय हुन सफल भएका छन्।
पुरस्कार वितरण कार्यक्रममा बोल्दै नं. २४ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक (SP) सूर्यप्रसाद तिमिल्सेनाले सशस्त्र प्रहरी बलले शान्ति सुरक्षाका साथै विभिन्न सामाजिक क्षेत्रमा निर्वाह गर्दै आएको भूमिकाबारे चर्चा गर्नुभयो। विद्यार्थीहरूलाई देशको भविष्यका कर्णधारका रूपमा चित्रण गर्दै उहाँले सकारात्मक सोच र निरन्तरको अभ्यासले मात्र सफलता प्राप्त हुने बताउनुभयो। साथै, उहाँले विद्यालय परिवार र सशस्त्र प्रहरीबीचको सम्बन्ध आगामी दिनमा थप प्रगाढ हुनुपर्नेमा जोड दिनुभयो। सोही अवसरमा विद्यालयका प्रधानाध्यापक शिव भण्डारीले सशस्त्र प्रहरी बलले समाजमा पुर्याएको योगदानको प्रशंसा गर्दै विद्यार्थीहरूको वृत्तिविकासमा यस्ता कार्यक्रमले थप उर्जा दिने विश्वास व्यक्त गर्नुभयो।


कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक तिमिल्सेनाले विद्यालयको खेलकुद विकासका लागि प्रधानाध्यापक भण्डारीलाई भलिबल र फुटबल लगायतका विभिन्न खेलकुद सामग्री समेत हस्तान्तरण गर्नुभयो। समारोहमा विद्यालयका शिक्षक, शिक्षिका तथा विद्यार्थीहरूको ठूलो संख्यामा उपस्थिति रहेको थियो।