पोखरा ।आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले कास्कीका तीनवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारहरुकाे नाम सिफारिस गरेको छ । शनिबार बसेको निर्वाचन क्षेत्र कमिटीहरूको बैठकले सिफारिस गरेका आकांक्षीहरूको सूचीमा निवर्तमान सांसददेखि स्थानीय तहका बहालवाला जनप्रतिनिधिसम्म अटाएका छन्।

यसपटकको सिफारिसमा चर्चाको विषय बनेको छ— पूर्वशिक्षा मन्त्री एवं निवर्तमान सांसद विद्या भट्टराईको नाम समावेश नहुनु। भट्टराईले आफू स्वेच्छाले चुनावी मैदानबाट बाहिरिएको र तेस्रो पटक उम्मेदवार नबन्ने निर्णय पहिले नै गरिसकेको बताएकी छन्। कास्की क्षेत्र नम्बर २ बाट दुई पटक प्रतिनिधित्व गरिसकेकी भट्टराईले भनिन्, “मैले पहिले नै दुई पटकभन्दा बढी उठ्दिनँ भनेर स्पष्ट पारिसकेकी थिएँ, त्यसैले अहिले मेरो नाम सिफारिस नभएको हो।” २०७९ को निर्वाचन जितेलगत्तै आफूले पार्टी नेतृत्वलाई यो जानकारी गराएको उल्लेख गर्दै उनले थपिन्, “मैले आफ्नो अडान पहिले नै राखेकाले अहिले कसैले मलाई यसबारे सोधखोज पनि गरेनन्।”
हेलिकप्टर दुर्घटनामा पति एवं तत्कालीन मन्त्री रवीन्द्र अधिकारीको निधनपछि उपनिर्वाचनमार्फत राजनीतिमा आएकी भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्। तर, पार्टीभित्रको घेराबन्दी र काम गर्ने वातावरण नभएको भन्दै उनले पदबाट राजीनामा दिएकी थिइन्।
कुन क्षेत्रबाट को-को भए सिफारिस?
कास्की क्षेत्र १: यहाँबाट निवर्तमान सांसद मनबहादुर गुरुङसहित ८ जनाको नाम सिफारिस भएको छ। सूचीमा जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षत्री, दिलीप न्यौपाने, पुष्पज्योति ढुंगाना, टीकाराम पंगेनी, पदमप्रसाद पौडेल, बालासिंह काउचा मगर र नारायणी भट्टराई रहेका छन्।
कास्की क्षेत्र २: विद्या भट्टराई बाहिरिएपछि यस क्षेत्रबाट ११ जनाको नाम पठाइएको छ। जसमा पोखरा महानगरका वडा सदस्य तथा लेखा समिति संयोजक झपट रानाभाटको नाम पनि समेटिएको छ। अन्य आकांक्षीहरूमा केन्द्रीय सदस्यहरू कृष्णबहादुर थापा, प्रभा कोइराला, रश्मी आचार्य, मीना गुरुङ, सञ्जीबबहादुर कोइराला, तेजनारायण अधिकारी, केशव आचार्य, भेषराज बराल, बलराम आचार्य र रामप्रसाद सुवेदी पनि सिफारिसमा परेका छन्।
कास्की क्षेत्र ३: यस क्षेत्रबाट सबैभन्दा धेरै १३ जनाको नाम सिफारिस भएको छ। जसमा निवर्तमान सांसद दामोदर बैरागीसँगै देवीप्रसाद सुवेदी, माधव बास्तोला, लक्ष्मण बराल र भोजकुमारी थापा, नन्दलाल अधिकारी, जगतबहादुर विश्वकर्मा, धनबहादुर नेपाली, राजीव पहारी, कर्णबहादुर गुरुङ, सूर्य खड्का बिखर्ची, डिबी नेपाली र ओमप्रसाद सुवेदी रहेका छन्। यसरी कास्कीमा एमालेले पुराना अनुहारसँगै केही नयाँ र स्थानीय तहमा सक्रिय रहेका नेताहरूलाई मिलाएर केन्द्रमा नाम पठाएको छ। अब केन्द्रले यीमध्येबाट अन्तिम उम्मेदवारको टुङ्गो लगाउनेछ।

This will close in 10 seconds