पर्वतको फलेवासमा दुई दिने क्षारसुत्र शिविर, १२३ जनाको स्वास्थ्य परीक्षण

पर्वतको फलेवासमा दुई दिने क्षारसुत्र शिविर, १२३ जनाको स्वास्थ्य परीक्षण

falebas

पर्वत। पर्वत जिल्लाको फलेवासस्थित प्रदेश आयुर्वेद चिकित्सालयमा ‘क्षारसुत्र व्यवस्थापन’ अन्तर्गत मलद्वार सम्बन्धी रोगहरूको विशेषज्ञ उपचार तथा स्क्रिनिङ शिविर  भएको छ। पुस १३ र १४ गते सञ्चालित उक्त शिविरमा पाइल्स, फिसर र फिस्टुला जस्ता समस्या भएका बिरामीहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिएको थियो।चिकित्सालयका प्रमुख डा. किरण कमल बस्ताकोटीको अध्यक्षतामा भएको शिविरको उद्घाटन फलेवास नगरपालिकाका प्रमुख गङ्गाधर तिवारीले गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन वरिष्ठ कविराज निरीक्षक नवीन किरण भुसालले गर्नुभएको थियो।

शिविरको उपलब्धि र सेवा
दुई दिनसम्म चलेको शिविरमा मलद्वार सम्बन्धी विभिन्न समस्या लिएर आएका कुल १२३ जना बिरामीहरूले प्रत्यक्ष परामर्श र परीक्षण सेवा प्राप्त गरेका थिए। गण्डकी आयुर्वेद अस्पतालकी कन्सल्टेन्ट सर्जन डा. दिक्षा पौडेल नेतृत्वको टोलीले बिरामीहरूको जाँच गरेको थियो। परीक्षणका क्रममा शल्यक्रिया आवश्यक देखिएका बिरामीहरूमध्ये ४ जनाको क्षारसुत्र विधिबाट सफलतापूर्वक उपचार गरिएको छ। स्रोत-साधन, उपकरण र पूर्वाधारको सीमितताका कारण यसपटक कम संख्यामा मात्र शल्यक्रिया गर्न सकिएको चिकित्सालयले जनाएको छ। आयुर्वेदमा क्षारसुत्र विधिलाई मलद्वार सम्बन्धी रोगका लागि अत्यन्त प्रभावकारी र सुरक्षित शल्य उपचार मानिन्छ।

अब फलेवासमै नियमित विशेषज्ञ सेवा
शिविरको अवसरमा पर्वतबासीका लागि एउटा महत्त्वपूर्ण सम्झौता समेत भएको छ। फलेवास नगरपालिकाका प्रमुख गङ्गाधर तिवारीको रोहवरमा गण्डकी आयुर्वेद अस्पताल (कास्की) र प्रदेश आयुर्वेद चिकित्सालय (पर्वत) बीच क्षारसुत्र सेवा सञ्चालनका लागि समझदारी पत्र (MoU) मा हस्ताक्षर भएको छ।

चालु आर्थिक वर्ष २०८२/०८३ भर लागू हुने यस सम्झौता अनुसार, अब फलेवासमा विशेषज्ञ आयुर्वेद चिकित्सकमार्फत नियमित रूपमा मलद्वार रोगको स्क्रिनिङ तथा क्षारसुत्र उपचार सेवा उपलब्ध हुनेछ। पर्वत जिल्लामै विशेषज्ञ सेवा विस्तार भएपछि स्थानीय जनप्रतिनिधि र सेवाग्राहीहरूले खुसी व्यक्त गरेका छन्। आगामी दिनमा आवश्यक भौतिक पूर्वाधार र उपकरण थप गर्दै यस सेवालाई अझ प्रभावकारी र निरन्तर बनाउने प्रतिबद्धता चिकित्सालयले जनाएको छ।

प्रतिक्रिया

भर्खरै