पोखरा । नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओलीले ह्याट्रिक जित दर्ता गरेका छन् । ११औँ महाधिवेशनबाट अनुमोदित हुँदै ह्याट्रिक गरेका हुन् । ओलीले अध्यक्षका प्रत्यासी ईश्वर पोखरेललाई १०९९ मतअन्तरले पराजित गरेका हुन् । ओलीले १६६३ र पोखरेलले ५६४ मत प्राप्त गरे ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका ओली २०७१ साल असारयता निरन्तर पार्टीको सत्तामा छन् । काठमाडौंको भृकुटीमण्डपमा भएको नवौं महाधिवेशनमा तत्कालीन महासचिव माधवकुमार नेपाललाई झिनो मतअन्तरले हराएर उनी पहिलो पटक अध्यक्ष निर्वाचित भएका थिए । त्यतिबेला ओली १०४७ मत प्राप्त गरी विजयी हुँदा नेपालले १००३ ल्याएका थिए ।
२०७८ भदौमा एमाले विभाजनपछि सौराहामा भएको १०औँ महाधिवेशनमा ओलीले सर्वसम्मत् अध्यक्ष बन्न चाहे पनि पूर्व उपाध्यक्ष डा. भीम रावलले उम्मेदवारी दिएपछि मतदान प्रक्रियामा जानुपरेको थियो । ओली १८३७ मत ल्याएर विजयी हुँदा रावलले २२३ ल्याएका थिए ।

हालै जेनजी विद्रोहबाट सत्ताच्यूत भएका तत्कालीन प्रधानमन्त्री ओली पार्टीभित्र नेतृत्व हस्तान्तरणको बहस पेचिलो हुँदै गएपछि नियमित महाधिवेशनलाई १ वर्ष अगाडि आयोजना गरेर नेतृत्वमा आफ्नो पकडलाई मजबुत बनाएका हुन् ।
ओलीसँगै पदाधिकारीमा उनकै प्यानलको बर्चस्व छ । एक उपाध्यक्ष र एक उपमहासचिव भने पोखरेल प्यानलका उम्मेदवार विजयी भए । संस्थापनइतर ईश्वर पोखरेलको प्यानलबाट उपाध्यक्षमा गोकर्ण बिष्ट र उपमहासचिवमा योगेश भट्टराईले चुनाव जिते । १९ सदस्यीय पदाधिकारीमा १७ जना संस्थापन पक्षका छन् । अन्तिम मतपरिणामअनुसार उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ, विष्णु पौडेल, रामबहादुर थापा (बादल), गोकर्ण विष्ट र रघुजी पन्त विजयी भए ।
महासचिवमा शंकर पोखरेल दोहोरिँदा उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । सचिवमा सबै ओली प्यानलका छन् । महेश बस्नेत, पद्माकुमारी अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मतकुमार कार्की, खगराज अधिकारी, यामलाल कँडेल, राजन भट्टराई र भानुभक्त ढकाल निर्वाचित भएका हुन् । केन्द्रीय सदस्यहरुमा पनि अधिकांश ओली प्यानलकै उम्मेदवार विजयी भएका छन् ।