लेखनाथ महाेत्सव भाेलिदेखि १४ गतेसम्म चल्ने

लेखनाथ महाेत्सव भाेलिदेखि १४ गतेसम्म चल्ने

lekhnath-mahotsav-press-meet

पोखरा । २१ औ संस्करणको लेखनाथ महोत्सव भाेलिदेखि हुँदैछ ।  पुस ३ देखि १४ पुससम्म हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको  संघ अध्यक्ष एवं महोत्सव मूल संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिइन् ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने नाराको साथ आयोजना गर्न लागिएको महोत्सवले जेनजी आन्दोलनबाट प्रभावित उद्योग तथा व्यवसायलाई प्रबद्र्धन गर्ने अपेक्षा छ । हालको विषम आर्थिक अवस्थाबीच व्यवसायी र आम उपभोक्ताको खस्किएको मनोबल उच्च बनाउँदै स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको उनले बताइन् ।

उनले महोत्सवलाई क्रेता, विक्रेता र उपभोक्ताबीचको साझा थलोका रूपमा विकास गर्ने अपेक्षा गरिएको पनि बताइन् । लेखनाथ महोत्सवलाई ‘अनौपचारिक विश्वविद्यालय’का रूपमा स्थापित गर्ने लक्ष्य रहेको उनको भनाइ छ । महोत्सवको विशेष आकर्षणका रूपमा जलपरी प्रदर्शन, कृषि, पर्यटन र उद्योग विषयक टक शो, टिकटक प्रतियोगिता, आर्ट एन्ड क्रिएटर प्रतियोगिता, शान्तिका दूत गौतम बुद्धको प्रतिमा, घरेलु तथा ग्रामीण प्रविधि प्रदर्शनी, महिला विशेष रत्यौली गीत कार्यक्रम, विद्यालयस्तरीय नृत्य, शैक्षिक प्रदर्शनी, साहित्यिक कार्यक्रम, विभिन्न जातजातिका मौलिक संस्कृति झल्कने झाँकी ¥याली एवं साँस्कृतिक प्रस्तुति, ख्यातिप्राप्त हास्य कलाकारहरूको दैनिक प्रस्तुति, राष्ट्रिय लोकदोहोरी तथा युवा लक्षित पप र सुगम सङ्गीत कन्सर्ट हुनेछन् ।

साथै, औद्योगिक तथा व्यापार, हस्तकला, कृषि तथा दुग्धजन्य उत्पादन, सुन्तला, माछा, मौरी, कफी, बिउविजन, तरकारी, जैविक विविधता, फुड फेस्टिभल, अटोमोबाइल प्रदर्शनी हुनेछ । महोत्सवमा पर्यटन प्रवद्र्धन सामग्री तथा वित्तीय सेवासम्बन्धी समेत जानकारी प्राप्त गर्न सकिने छ । महोत्सवमा उद्योग, व्यापार, व्यवसाय, सेवामूलक एवं सूचनामूलकसहितका ३ सय ३५ वटा स्टलहरु रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

महोत्सव अवलोकन गर्न करिब २ लाख ५० हजार दर्शक आउने आयोजकको अपेक्षा छ । करिब ९ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने महोत्सवका प्रचार प्रसार संयोजक धु्रवबाबु भट्टराईले बताए । यस्तै करिब ९५ लाख रुपैयाँ आम्दानी र ८५ लाख रुपैयाँ खर्च भई १० लाख रुपैयाँ बचत हुने जनाइएको छ । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, महोत्सवका मुख्य प्रायोजक गृहलक्ष्मी ग्यास कम्पनीका सञ्चालक धर्मराज बर्तौला लगायतले बोेलेका थिए । कार्यक्रम सञ्चालन संघका महासचिव भरतराज ओझा र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बास्तोलाले गरे ।

नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सहआयोजना, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा विभिन्न संघसंस्थाको सहयोग रहने छ । महोत्सवको टिकट दर विद्यार्थीका लागि ५०, साधारण प्रवेश १०० र कन्सर्ट टिकट २०० तोकिएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई सामाजिक सुरक्षा भत्ता परिचयपत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

गृहलक्ष्मी ग्यास कम्पनी प्रालिको मुख्य प्रायोजनमा हुने उक्त महोत्सवको सह–प्रायोजकमा बिएलसि ग्रुप (नर्भिक हस्पिटल), पशुपति विस्कुट, हेटौडा डेरी हुन् ।

प्रतिक्रिया