पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा प्रदेशवासीसँगै सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । हालै नव युवापुस्ताले गरेको आन्दोलनका क्रममा शहादत प्राप्त गरेकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ ।
नव युवानेतृत्वको आन्दोलनपश्चात् शान्तिपूर्ण निकासका साथ मुलुक अघि बढिरहेको जनाउँदै उहाँले संविधान, संसदीय प्रणाली र संघीय लोकतन्त्र गणतन्त्र कायम राख्न सफल भएको उल्लेख गर्नुभएको छ । प्रदेश प्रमुख भट्टले भन्नुभएको छ – ‘फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नुपर्नेछ । निर्वाचन नै मुलुकको निकास भएकाले आजको संवेदनशील घडीमा उपयुक्त वातावरण बनाउन सबै सम्बद्ध पक्षहरुलाई विशेष आव्हान गर्दछु ।’
नव युवापुस्ताको आन्दोलनको मर्म र भावनालाई सम्बोधन गरी संविधानको स्वीकार्यता अझ फराकिलो पार्दै यसको पूर्ण कार्यान्वयनले मुलुकले गति लिने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ । ‘अबका कदमहरु संविधानको कार्यान्वयन तथा संघीयतालाई संस्थागत एवं सुदृढ गर्ने दिशामा हुनेछ । संविधानको सफल कार्यान्वयन गरी राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन र नेपाललाई स्थायी शान्ति र समृद्धिको दिशातर्फ उन्मुख गराउन आ–आफ्नो ठाउँबाट योगदान गर्न सबै राजनीतिक दल तथा आम नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा म हार्दिक आह्वान गर्दछु ।’ – उहाँले भन्नुभएको छ ।यस कार्यमा अन्तर्राष्ट्रिय समुदायबाट पनि यथोचित सहयोग रहने विश्वास व्यक्त गर्दै प्रदेश प्रमुख भट्टले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरण गर्न मुलुकको राष्ट्रिय एकता, अखण्डता र जनतामा निहित सार्वभौमसत्तालाई सर्वोपरी राख्न आवश्यक रहेकोमा जोड दिनुभएको छ । ‘देशमा शान्ति, जनताको हित र उन्नति भन्दा ठूलो हाम्रो कुनै लक्ष्य हुन सक्दैन । यही भावनाबाट उत्प्रेरित भई संविधानको पालना र कार्यान्वयन गर्न राज्यका सबै अङ्गहरुले निष्पक्ष र न्यायपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दछु ।’ भट्टले भन्नुभएको छ ।
वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातिय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत राष्ट्रिय एकताको सुत्रमा आवद्ध गरेको उहाँको भनाई छ ।