प्रमिसा सिलवाल । पोखरा
बहु भूमिकामा छन् ४५ वर्षीया शान्ता थापा । साँझ–बिहान घर र पसल सम्हाल्ने थापा दिउँसो पर्यटन निर्देशनालयमा कार्यालय सहयोगी छन् । बिहान ५ बजे उठेर घरको सरसफाइ, पूजापाठ सकेर ६ बजे उनी पार्दीस्थित आफ्नो फ्रेस हाउस खोल्न पुग्छिन् । साढे २ घण्टा जति पसलमा काम गरेर फेरि घर खाना पकाउन जान्छिन् । ९ः३० बजेको समय कार्यालय पुगिसक्नुपर्ने समय हो । उनले पकाएको खाना खान नभ्याएपछि सधैँ टिफिनमा प्याक गरेर लान्छिन् ।
‘५ बजे अफिस छुट्टी हुन्छ, अनि पसल जान्छु । पसलबाट घर फर्कंदा राति ९ बज्छ, खाना पकाएर घरधन्दा सक्दा सधैं ११ बज्छ । घर, पसल र अफिसको जिम्मेवारीले गर्दा धेरै नै व्यस्त हुन्छु । श्रीमान् विदेश नजाँदासम्म साथ पाएको थिएँ, अहिले छोराहरूको साथ भएकाले केही राहत त मिलेको छ तर पनि आफन्त र समाजभन्दा टाढा भए जस्तो लाग्छ,’ उनी भन्छिन् ।
११ वर्षदेखि रेडियो एपोस्टोलमा स्टेसन म्यानेजर सरिता गायकको जिम्मेवारी पनि घरदेखि अफिससम्मै छ । ४३ वर्षकी उनको दैनिकी मिरमिरेसँगै सुरु हुन्छ । घरको सरसफाइ, परिवारका लागि बिहानको नास्ता, स्कुल जाने बच्चाको होमवर्क र ड्रेसको तयारी, श्रीमान्को अफिसको तयारी, खाना खाएर भाँडा माझेपछि घरको बाँकी काम बिहानी सत्रलाई थाती राख्छिन् । रेडियोमा प्रमुखको भूमिका त छँदै छ । उनी भन्छिन्, ‘अफिस जानुअगाडि एउटा सानो गृह मन्त्रालय नै सम्हाल्नुपर्ने हुन्छ । अफिसमा कर्मचारी, घरमा गृहिणी, तैपनि कहिलेकाहीँ– ‘के नै काम ग¥यौ र ?’ भन्नेजस्ता शब्दले दुःख लाग्छ ।’ सरितालाई छुट्टी त बिरामी भएपछि अस्पतालको बेडमा मात्र मिल्छ । तर पनि उनी कहिल्यै गुनासो गर्दिनन् । सक्दो हाँस्छिन्, सक्दो सम्हाल्छिन् र परिवारलाई आफूभन्दा अगाडि राख्छिन् ।
अचेल सहरी क्षेत्रका होटल, रेस्टुरेन्टमा कुक हुन्छन् पुरुष । तर तिनै पुरुषहरू घरमा भान्छे बन्दैनन् । हरेक क्षेत्रमा महिला र पुरुष बराबर हुन् भनी ३० वर्षदेखि विद्यार्थीलाई पढाउँदै आएकी भद्रकाली माविकी शिक्षिका सरिता हमालले आफ्नै जीवन र नेपाली समाजमा त्यो शिक्षा व्यवहारमा अझै लागू भएको देख्दिनन् । सबेरै उठेर घरधन्दा सकेर विद्यालय पुग्छिन् । विद्यालयको जिम्मेवारी पूरा गरेपछि फेरि घर फर्केर भान्सामा र सरसफाइकै काममा व्यस्त रहन्छिन् । उनी भन्छिन्, ‘शनिबारको दिन पनि काममै बित्छ । जागिरे भएपनि घरको सम्पूर्ण जिम्मेवारी महिलाकै हुन्छ ।’
घरकै काममा मात्रै समय व्यतीत गर्ने अधिकांश महिलाहरूको समय परिवारकै चिन्तनमा बित्छ, यद्यपि उद्यमी महिलाले व्यवसायमा बढी समय लगानी गर्न पाए बढी आर्थिक आर्जन गर्न सकिने बताउँछिन् महिला उद्यमी मिलन थापा । थापाले घरेलु जिम्मेवारीलाई पहिलो प्राथमिकतामा राख्दै आएको सुनाउँछिन् । उनी भन्छिन्, ‘म, मेरो श्रीमानसँग व्यवसाय र समाजसेवामा सँगसँगै छु तथापि म समाजसेवामा हिँड्दै गर्दा, म व्यवसायमा जोडिँदै गर्दा श्रीमान्लाई जति सहज छ त्यति मलाई हुँदैन किनभने म कहीँ जाँदै गर्दा मैले मेरो घरमा चाहिने आवश्यक सामानहरू, परिवारको व्यवस्थापन गरेर हिँड्नुपर्ने हुन्छ । मैले जति समय दिएको हुन्छु, जति मलाई बोध हुन्छ मेरो श्रीमान्लाई त्यति बोध हुँदैन ।’
श्रीमान् र श्रीमती दुबै अफिसबाट साँझ घर फर्कन्छन्, श्रीमती सोझै भान्सामा लाग्छिन् भने श्रीमान् मोबाइल चलाउन थाल्छन् । यी दृश्यहरू सामान्यजस्तै लाग्छन्, तर यहीँबाट महिलाको दोहोरो जिम्मेवारी सुरु हुन्छ ।
कास्कीकी प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रादेवी शर्मा महिलाको जैविक भूमिका (बच्चा जन्माउने) ले सामाजिक जिम्मेवारी बढाउने बताउँछिन् । परिवर्तनका लागि आवाज उठाउँदा आफ्नो शक्ति वा यथास्थिति गुमाउनुपर्छ कि भन्ने चिन्तनका कारण पनि परिवर्तन हुन नसकेको उनको बुझाइ छ । भन्छिन्, ‘मेरो काम र परिवारको जिम्मेवारी सन्तुलन गर्नमा श्रीमान् र परिवारबाट पूर्ण सहयोग पाएकी छु । म बाहिर प्रमुख जिल्ला अधिकारी भएपनि घरमा छोरी, बुहारी र आमाको भूमिकामा रहन्छु । कानुन, संविधान, योजना तथा अन्तर्राष्ट्रिय सन्धिहरूमा समानताको कुरा उल्लेख भएपनि व्यावहारिक रूपमा सोच परिवर्तन गर्न कठिनाइ छ ।’
महिलाको भूमिका शरीरमा २४ सै घन्टा सक्रिय हुने मुटु जस्तै
महिलाको भूमिका शरीरमा २४ सै घन्टा सक्रिय हुने मुटु जस्तै भएको बताउँछन् समाजशास्त्री प्राडा विश्वकल्याण पराजुली । उनी भन्छन्, ‘शरीरमा खुट्टाको काम भनेको उभिने मात्र हो तर मुटुको काम भनेको उठे पनि, बसे पनि, सुते पनि, २४ घण्टा चलिरहन्छ, कामकाजी महिलाहरू पनि शरीरको मुटुजस्तै हुनुपरेको छ, जतिबेला पनि चलिरहनुपर्ने निरन्तर ।’ नेपालको सोह्रौँ योजनामा महिलाको घरायसी श्रमलाई पनि आर्थिक रूपमा गणना गर्ने पहल भएको छ । ‘एउटी आमाले घरमा गरेको कामको मूल्य कति राख्ने?’ भन्ने बहस सुरु भइसकेको छ । यसलाई पराजुली सामाजिक परिवर्तनको संकेत मान्छन् । ‘महिलाहरूको अधिकारको कुरा, महिलाहरूको कामलाई स्वीकार गर्ने कुरा, महिलाहरूलाई सकारात्मक भेदभावका कुराहरू बिस्तारै भएको भएर हामीले नदेखेको तर समाजले यसलाई अंगिकार गरिरहेको छ,’ पराजुली भन्छन् ।
(यो समाचार कोपिला नेपालको फेलोसिपअन्तर्गत तयार गरिएको हो)